दाङ । माघी पर्व नजिकिएसँगै दाङका थारू बस्तीमा चहलपहल शुरू भएको छ । थारू जातिको सबैभन्दा ठूलो पर्वका रूपमा मानिने माघीमा एक महिनाअघिदेखि तयारी गर्ने चलन छ ।
यो पर्वका अवसरमा थारू समुदायमा गाउँका महतवा अर्थात् अगुवाको घरमा जम्मा भएर वर्षभरिको योजना बनाउने परम्परा रहेको घोराही उपमहानगरपालिका–७ सौडियारकी विपना चौधरीले बताए ।
पुस महिनामा तयारी गरेर माघे सङ्क्रान्तिका दिनदेखि चार–पाँच दिनसम्म माघी पर्व मनाउने प्रचलन रहेको छ । थारू समुदायले माघमा आफ्नो मुखिया, चौकीदार, घरको मूली चुन्ने, नयाँ नियम लागू गर्ने, संशोधन गर्ने भएकाले पनि यसलाई विशेष रूपमा लिइँदै आइएको घोराही–६ का मदन चौधरीले बताए ।
थारू समुदायका पुरुषहरूले माघीको अघिल्लो दिन आगोको धुनी बालेर ताप्ने गर्दछन् । गाउँभरिका मानिस एकै ठाउँ जम्मा भएर आगो ताप्ने र भाले बासेसँगै नदी वा खोलामा नुहाउने गर्दछन् । नुहाएर आएपछि आफूभन्दा ठूलालाई ढोगभेट गरी आशीर्वाद लिएर घरमा आएपछि खिचडी दान गर्ने प्रचलन थारू समुदायमा छ ।
थारू समुदायमा माघ महिनालाई नयाँ वर्षका रूपमा लिने गरिन्छ । पुस मसान्तमा आ–आफ्नो लेनदेन, हरहिसाब चुक्ता गर्ने र माघको १ गतेदेखि नयाँ हिसाबकिताब शुरू गर्ने चलन छ ।
यसैबीच माघीका अवसरमा यही पुस २० गते घोराही उपमहानगरपालिका–६ र १७ को आयोजनामा एकदिने माघ महोत्सव हुने भएको छ ।
प्रतिक्रिया