साहित्य राजनीतिक र सामाजिक रुपान्तरणको संवाहक : पूर्वराष्ट्रपति भण्डारी

साहित्य राजनीतिक र सामाजिक रुपान्तरणको संवाहक : पूर्वराष्ट्रपति भण्डारी



काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले साहित्य समाजको दर्पण मात्र नभइ राजनीतिक र सामाजिक रुपान्तरणको संवाहक भएको बताएकी छन् ।

शुक्रबार काठमाडौंमा नेकपा (एमाले) वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको ‘आमा सपना र ताराहरु’ पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो सुझाव दिएकी हुन्।

उनले साहित्यले समाजमा रुपान्तरण र परिवर्तन ल्याउने बताइन् । उनले साहित्य कलात्मक, सुन्दर र आदर्श अभिव्यक्ति मात्र नभइ विचारको संवाहक भएको बताइन् ।

उनले सामाजिक, आर्थिक रुपान्तरणको अभियानमा लागेका राजनीतिकर्मीबाट सिर्जना गरिएका साहित्यले सामाजिक पसिरवर्तनकै अभियानलाई बल पुर्‍याउने बताइन् ।

समाजमा भएका अराजकता, विकृति, विसंगतीलाई रोक्न र सही नीति, सिद्धान्त, दर्शनको आधारमा मुलुकलाई समृद्ध बनाउन प्रगतिशील कला साहित्य र संगीतको महत्वपूर्ण भूमिका हुने बताइन् ।

उनले भने, ‘साहित्य समाजको दर्पण हो । त्यति मात्रै होइन, राजनीतिक परिवर्तन तथा सामाजिक रुपान्तरणको लागि महत्त्वपूर्ण कुरा हो। साहित्य कलात्मक, सुन्दर आदर्श अभिव्यक्ति मात्र नभएर विचारको संवाहक हो । सामाजिक, आर्थिक रुपान्तरणको अभियानमा लागेका राजनीतिकर्मीबाट गरिने साहित्य सिर्जनाले पनि अन्ततः सामाजिक परिवर्तनकै अभियानलाई नै थप बल पुर्‍याउँछ । समाजमा भएका अराजकता, उश्रृंखलता जस्ता विकृति, विसंगतिहरुलाई रोक्न र सही नीति, सिद्धान्त, दर्शनको आधारमा मुलुकलाई समृद्ध बनाउन प्रगतिशिल कला साहित्य र संगीतको महत्वपूर्ण भुमिका रहन्छ ।’