जेरुसेलम । गाजामा गत अक्टोबर ७ मा भएको आक्रमणपछि लडाकुले बन्धक बनाएका एक इजरायली बन्धकको शव फेला परेको इजरायली सेनाले शुक्रबार पुष्टि गरेको छ ।
फरेन्सिक जाँचपछि इजरायली सेनाले हम्जा अल जायदना ‘हमासको कैदमा मारिएको’ जानकारी उनको परिवारलाई बिहीबार दिएको छ । सेनाले उनका पिता युसुफको शव बुधबार बरामद गरी इजरायल ल्याइएको घोषणा गरेको थियो ।
प्यालेस्टिनी लडाकूहरूले गाजाको सीमा नजिकै किबुट्ज होलिटबाट बाबुछोरालाई सन् २०२३ अक्टोबर ७ मा कब्जामा लिएका थिए । उनीहरूसँगै अपहरणमा परेका हम्जाकी बहिनी र भाइलाई नोभेम्बर २०२३ मा एक हप्ता लामो युद्धविरामको क्रममा रिहा गरिएको थियो ।
हम्जा अल–जायदनाको भविष्यबारे बुधबार अपुष्ट रिपोर्ट सार्वजनिक भएको थियो, तर शुक्रबार सेनाले उनको मृत शरीरको अवशेष पहिचान भएको पुष्टि गरेको हो ।
सन् २०२३ मा हमासले गरेको उक्त आक्रमणमा इजरायली पक्षका एक हजार २०८ जनाको मृत्यु भएको इजरायली आधिकारिक तथ्यांकले देखाएको छ ।
इजरायलको जवाफी कारबाहीमा गाजामा ४६ हजार छ जनाको मृत्यु भएको छ, जसमध्ये अधिकांश सर्वसाधारण रहेको संयुक्त राष्ट्रसंघले विश्वासिलो मानेको हमासद्वारा सञ्चालित क्षेत्रको स्वास्थ्य मन्त्रालयको तथ्यांकले देखाएको छ ।
प्रतिक्रिया