भारतीय प्रेमीसँग मिलेर श्रीमान‍्को हत्या

भारतीय प्रेमीसँग मिलेर श्रीमान‍्को हत्या



धनगढी । कञ्चनपुरमा भारतीय प्रेमीसँग मिलेर एक महिलाले श्रीमान‍्को हत्या गरेकी छन् । बेलौरी नगरपालिका–६ भुराकोटका ४९ वर्षीया सियाराम रानाको श्रीमतीले प्रेमीसँग मिलेर हत्या गरेको खुलेको हाे ।

भारतको खिरी जिल्ला, सम्पूर्ण नगरका फारुख नाम गरेका प्रेमीको योजनामा जनककुमारी रानाले इटाले प्रहार गरेर श्रीमान‍्को हत्या गरेकी हुन् । रानाको शव २०८१ मंसिर १३ गते उनकै घरमा फेला परेको थियो ।

दोस्रो दिन प्रहरीले श्रीमती जनककुमारीलाई नियन्त्रणमा लिएर पूर्पक्षका लागि कारागार पठाएको थियो । उनका प्रेमी भारतीय नागरिक २०८१ पुस २८ गते पक्राउ परेका थिए । 

घटनास्थलमा भारतीय नागरिक फारुख नभए पनि योजना बनाएको पाइएको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रवक्ता उमेशराज जोशीले बताए । बिमा रकम हत्याउने उद्देश्यले भारतीयसँग मिलेर योजनाबद्ध रूपमा श्रीमान‍्को हत्या गरेको पाइएको प्रहरीले जनाएको हो ।

मृतक सियारामले नेपाल लाइफ इन्स्योरेन्समा २८ लाखको जीवन बिमा गरेकाले उक्त रकम हत्याउने उद्देश्यले नै उनको हत्या गरिएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

भारतीय नागरिक फारुखले योजना बनाए पनि हत्या भने स्वयंले गरेकाे बयान श्रीमतीले प्रहरीलाई दिइएकी छन् । भारतीय नागरिकविरुद्ध कर्तव्य ज्यान मुद्‍दामा १० दिनको म्याद थपेर अनुसन्धान भइरहेको छ । 

उनीहरूले रानाको हत्या गरेर शौचालयमा चिप्लिएर रानाको मृत्यु भएको भन्दै प्रहरीलाई खबर गरेका थिए । तर, मृतकको शव शौचालयमा नभएर घरको ग्यालरीको कुनामा सिरकले छोपिएको अवस्थामा भेटिएपछि प्रहरीले अनुसन्धान थालेको हो ।

मृतकको टाउको र तालुमा रहेको चोटका आधारमा प्रहरीले घटनाको अनुसन्धान गरेको थियो । रानाको घर कोठा खानतलासी गर्दा कोठा, कुर्सी, ढोकालगायत ठाउँमा रगत लागेको भेटिएको थियो । खाटमुनी रगत लागेको इटा भेटिएको थियो । दराजमा महिला र पुरुषले लगाउने कपडा रगतले भिजेको अवस्थामा फेला परेका थिए । 

सोधपुछका क्रममा मृतककी श्रीमती रानाले बिहीबार बिहान दुवै जनाबीच झगडा भएको र दिउँसो सुतेका बेला इटा प्रहार गरी हत्या गरेको स्वीकार गरेपछि पक्राउ गरेर मुद्दा चलाइएको हो ।