राप्ती र नारायणी नदीमा तीन सय बाउन्न घडियाल गोही भेटिए

राप्ती र नारायणी नदीमा तीन सय बाउन्न घडियाल गोही भेटिए



चितवन । राप्ती र नारायणी नदीमा तीन सय ५२ वटा घडियाल गोही भेटिएका छन् । चितवन राष्ट्रिय निकुञ्जले हालै गरेको गणना तथा अनुगमनका क्रममा राप्ती नदीमा दुई सय छ र नारायणी नदीमा एक सय ४६ वटा गोही भेटिएका हुन् ।

निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले पुस १२ गतेदेखि १४ दिन लगाएर गरिएको गणनामा सो सङ्ख्यामा गोही भेटिएका बताए । गणनामा निकुञ्जका नौ कर्मचारी र माझीहरू सहभागी भएका थिए । गत वर्ष गरिएको सर्वेक्षणमा राप्तीमा एक सय ५२ र नारायणीमा एक सय १३ वटा गोही भेटिएका थिए । त्यसबेला राप्ती र नारायणीमा तीन÷तीनवटा भाले भेटिएकामा यस वर्ष राप्तीमा दुई र नारायणीमा तीन गरी पाँचवटा भाले भेटिएका छन् ।

यस वर्ष एउटा भाले नभेटिए पनि समग्रमा सङ्ख्या भने बढेको छ । गणना हुनुअघि राप्तीमा ४१ वटा गोही छोडिएकाले पनि सङ्ख्या बढेको सूचना अधिकारी थापामगरले बताए । निकुञ्जले गत पुस महिनामा राप्तीमा थप २० वटा गोही छोडेको थियो ।

गत आर्थिक वर्षमा एक सय पाँच वटा गोही प्राकृतिक बासस्थानमा छाडिएकामा चालु आवमा थप ४० वटा गोही छोड्ने योजना रहेको छ । यहाँ नदी किनारबाट गोहीका अण्डा सङ्कलन गरेर प्रजनन केन्द्रमा कोरलेर बच्चा हुर्किएपछि नदीमा छोड्ने गरिन्छ ।