पोखरा । साइबर अपराधमा कसुरमा पक्राउ परेका डा. निकोलस भुसाल ५० हजार धरौटीमा रिहा भएका छन् । कास्की जिल्ला अदालतका न्यायाधीश शंकरबहादुर राईको इजलासले शुक्रबार उनलाई ५० हजार धरौटीमा तारेखमा रिहा गरेको हो ।
भुसाललाई प्रहरीले बिहीबार पक्राउ गरी अदालतमा उपस्थित गराएको थियो । कास्की प्रहरी हिरासत कक्षभित्र पसेर भुसालले रास्वपा सभापति रवि लामिछानेको तस्बिर खिचेको आरोपमा भुसाल पक्राउ परेका हुन् ।
जिल्ला सरकारी वकिल कार्यालले उनलाई ५ वर्ष थुनामा राख्न माग गर्दै मुद्धा दायर गरेको थियो । लामिछाने भेट्न प्रहरी हिरासतमा पुगेका भुसालले सुतिरहेको तस्बिर खिचेर सामाजिक सञ्जालमा पोष्ट गरेका थिए । उनी यसअघि गत ७ पुसमा पनि भुसाल पक्राउ परेका थिए ।
तर, जिल्ला अदालत कास्कीले थुनाबाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएपछि उनी रिहा भए । अनुसन्धान गर्दै जाँदा थप प्रमाण फेला परेकाले भुसाललाई पुनः पक्राउ गरिएको कास्की प्रहरी प्रमुख एसपी श्याम ओलीयाले बताए ।
भुसालले उक्त तस्बिर आफूले खिचेर पोष्ट गरेको यसअघि नै स्वीकार गरिसकेका छन् ।
प्रतिक्रिया