कङ्गोमा विद्रोहीले १३ जना विदेशी सैनिकको हत्या गरे

कङ्गोमा विद्रोहीले १३ जना विदेशी सैनिकको हत्या गरे



काठमाडौं । प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआर कङ्गो) मा विद्रोहीले १३ जना विदेशी सैनिकको हत्या गरेका छन् । विद्रोही एम२३ समूहसँगको भीडन्तमा शान्ति स्थापनाका लागि खटिएका १३ जना विदेशी सैनिक मारिएका बीबीसीले जनाएको छ ।

विद्रोही समूहसँगको भीडन्तमा दक्षिण अफ्रिकाका ९, मलावीका ३ र उरुग्वेका १ जना शान्ति सैनिक मारिएका छन् । विद्रोहीहरूलाई कङ्गोको पूर्वमा रहेको गोमा शहरतर्फ प्रवेश गर्नबाट रोक्ने प्रयास गर्दा आफ्ना ९ जना सैनिकको ज्यान गएको दक्षिण अफ्रिकाको सेनाले जनाएको खबरमा उल्लेख छ ।

गोमामा विद्रोही समूह एम२३ र कंगोको सेनाबीच लडाइँ चलिरहेको छ । विद्रोहीहरूले अहिलेसम्मकै बढी भू–भाग नियन्त्रणमा लिएपछि यस वर्षको शुरूदेखि युद्ध चर्किएको छ । द्वन्द्वका कारण अघिल्लो वर्ष चार लाख जना मानिसहरू घर छाडेर भागेका राष्ट्रसङ्ले जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घले अत्यावश्यकबाहेक सबै कर्मचारीहरूलाई गोमाबाट फिर्ता गर्ने भएको छ । यस्तै बेलायत, फ्रान्स, जर्मनी र अमेरिकासहित कैयौं देशहरूले आफ्ना नागरिकलाई गोमा शहर छाड्न भनेका छन् ।

मानव अधिकारवादी संस्था ह्युमन राइट्स वाचले विद्रोही र सेनाबीचको लडाइँले नागरिकलाई थप खतरामा पार्न सक्ने चेतावनी दिएको छ ।

यसैबीच फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँनले हिंसा अन्त्यका लागि विश्वव्यापी आह्वानका बीच आफूले कङ्गो र रुवान्डा दुवैका नेताहरूसँग कुरा गरेको बताउनुभएको छ ।

कङ्गोले विद्रोही समूह एम२३ लाई समर्थन गरेको आरोपमा छिमेकी रुवान्डासँग कूटनीतिक सम्बन्धविच्छेद गरेको छ ।