उत्तरी गाजाबाट विस्थापित हजारौं नागरिक आफ्नो घर फर्कन थाले

उत्तरी गाजाबाट विस्थापित हजारौं नागरिक आफ्नो घर फर्कन थाले



काठमाडौं । उत्तरी गाजाबाट विस्थापित हजारौं प्यालेस्टाइनी आफ्नो घर फर्कन थालेका छन् । इजरायल र हमासले अन्य ६ जना बन्धकको रिहाइका लागि सम्झौता गरेपछि विस्थापित प्यालेस्टाइनीहरूको भीड युद्धग्रस्त गाजा पट्टीको उत्तरतिर बढ्न थालेको समाचार संस्था एएफपीले जनाएको छ ।

गाजा पट्टी इजरायलले ध्वस्त बनाइसकेको छ । तर हजारौं प्यालेस्टाइनी आफ्नो घरको भग्नावशेष खोज्दै पुगेका खबरमा उल्लेख छ । यसअघि युद्धविराम सम्झौता अनुसार हमासले बन्धक रिहाइमा ढिलाइ गरेको भन्दै इजरायलले प्यालेस्टाइनी नागरिकलाई उनीहरूको घर उत्तरी गाजामा जान रोकेको थियो । तीन दिनदेखि बाटैमा रोकिएका हजारौं मानिस आज आफ्नो घरको भग्नावशेष खोज्दै गरेको देखिएका छन् ।

विस्थापित इब्राहिम अबु हसेराले घरको नाममा केवल ध्वस्त भएका संरचना मात्रै देखिए पनि आफन्त र प्रियजनसँग आफ्नो थातथलोमा फर्कन पाउँदा खुशी भएको बताएका छन् । हमासले प्यालेस्टाइनीका लागि फिर्तीलाई विजय भनेको छ ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजाका २४ लाख जना नागरिकलाई इजिप्ट र जोर्डनमा पठाएर गाजा सफा गर्ने भन्दै दिएको अभिव्यक्तिको अरब देश, प्यालेस्टाइन, हमास र जिहादी समूहले विरोध गरेका छन् ।

‘ट्रम्प र सम्पूर्ण विश्वलाई भन्छौँ– हामी प्यालेस्टाइन वा गाजा छोड्ने छैनौँ, चाहे जे भए पनि’, विस्थापित गाजा निवासी रशाद अल–नाजीले भनेका छन् । यस्तै इस्लामिक जिहादले आफ्ना नागरिकलाई विस्थापित गर्ने सपना देख्नेहरूले नराम्रो झड्का बेहोर्ने चेतावनी दिएको छ ।

यसैगरी प्यालेस्टाइनका राष्ट्रपति महमुद अब्बासले गाजाबाट प्यालेस्टिनीहरूलाई विस्थापित गर्ने उद्देश्यले आउने कुनै पनि परियोजनाको कडा अस्वीकार र निन्दा गर्ने बताएका छन् । यस्तै हमासको राजनीतिक ब्युरोका सदस्य बासेम नाइमले प्यालेस्टाइनीहरूले यस्ता परियोजनाहरूलाई विफल पार्ने बताएका छन् ।

यसैगरी अरब देशहरूले पनि गाजाका नागरिकलाई अरू देशमा सार्ने कुरा अर्को विपत्ति हुन सक्ने भन्दै यस्ता अभिव्यक्ति नदिन भनेका छन् ।