काठमाडौं । नेपाल प्रहरीसम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमा प्रदेशमा समायोजन भएर जाने प्रहरी कर्मचारीको एक तह बढुवा गर्ने प्रस्ताव गरिएको छ ।
मंगलबार संसदमा दर्ता भएको विधेयकको प्रस्तावित मस्यौदामा प्रदेशमा समायोजन हुने प्रहरी कर्मचारीको पदभन्दा एक तह वा श्रेणी माथिको पदमा बढुवाका लागि उम्मेदवार बनाउने उल्लेख छ ।
प्रदेश प्रहरीबाट प्रहरी नायब महानिरीक्षक (डिआईजी) मा बढुवा गर्दा प्रदेशको एक तहमुनि पदमा कार्यरत अधिकृतबाट बढुवा गरी पदपूर्ति गर्नुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ ।
संघीय प्रहरीमा रिक्त पदमा बढुवाबाट पदपूर्ति गर्नका लागि एसएसपी (वरिष्ठ प्रहरी उपरीक्षक) पदमा चार वर्ष सेवा अवधि पूरा भएको हुनुपर्ने व्यवस्था प्रस्ताव भएको छ ।
प्रदेशमा चार वर्ष सेवा अवधि पूरा नगरेका एसएसपी संघीय प्रहरीमा बढुवाका लागि उम्मेदवार बन्न पाउने छैनन् ।
मस्यौदामा प्रदेश प्रहरीमा बढुवाका लागि सम्भाव्य उम्मेदवार उपलब्ध नभएमा नेपाल प्रहरी सेवाबाट बढुवा गरी पदपूर्ति गर्ने विधेयकमा उल्लेख छ ।
प्रतिक्रिया