विद्यालय खेलकुदमा प्रतिभा पहिचान

विद्यालय खेलकुदमा प्रतिभा पहिचान



२००७ सालमा प्रजातन्त्रको आगमनपछि साधारण नेपाली जनताले विभिन्न आधुनिक खेलकुदका कृयाकलापहरु गर्ने अवसर प्राप्त गरेको मान्नु पर्दछ । यसरी नेपाली जनताले आधुनिक खेलकुदका कृयाकलाप गरेको करीब ६ दशक हुन लागेको मान्न सकिन्छ । यस दौरान हजारौं नेपाली युवकहरुले राष्ट्रिय र अन्तराष्ट्रिय प्रतियोगिताहरुमा सहभागि हुने मौका पनि पाईसकेका छन् । धेरै प्रतिभावान नेपाली खेलाडीहरुले खेलकुदको माध्यमवाट अन्तराष्ट्रिय प्रतियोगिताहरुमा केही सफलता पाएर देशको इज्जत राख्न सफल भएका छन् र हजारौं–लाखौं युवा–युवतीहरु खेदकुदको माध्यमवाट देशकोलागि केही गर्न सकिन्छ भन्ने उद्देश्यले रगत पसिना बगाई मेहनत गरिरहेका छन । खेलकुदको अन्तराष्ट्रिय जगतमा नेपाली खेलाडीहरुको प्रयासलाई नेपाली जनताले सह्राना पुर्वक प्रशंसा गरिरहेको भएता पनि धेरै प्रतियोगिताहरुका नतिजालाई विश्लेषण गर्दा सन्तोस वा गर्भ गर्ने अवस्था अझै पनि पर्याप्त चित्रण भएको पाइन्दैन ।

नेपाल जस्तो सीमित साधन स्रोत, कमजोर आर्थिक, औधोगिक र कृषिको अवस्था, कम साक्षारता भएको अवस्था, खेलकुदको विज्ञान प्रविधिको अल्प विकास, वैज्ञानिक प्रशिक्षणको अभाव र समस्त खेलकुद जगतले देशको निति निर्माताहरुलाई यस्को आवश्यकता र विकासको औचित्तलाई वैज्ञानिक र अनुसन्धानात्मका तथ्यलाई आत्मासत गरेर बुझाउन नसकिरहेकोे अवस्था र अन्यकारणहरुले गर्दा राष्ट्रिय र अन्तराष्ट्रिय खेलकुद जगतमा सफल हुन नसकिरहेको अवस्था पाइन्छ ।

धेरै जसो निति निर्माताहरु, खेलकुदका पदाधिकारीहरु, उच्च ओहदाका मन्त्री देखि अन्य राजनैतिक ब्यक्तित्वहरुले आफनो विचार ब्यक्त गर्दा खेलकुदको आधार विद्यालय हुन भन्ने खालका ब्याख्या, चर्चा र टिप्पर्णी आदि गरेको पाइन्छ । तर हाल आएर यस्ता सर्वमान्य तथ्यहरुलाई चरितार्थ र कार्यान्वय लिखितरुपमा गरिएता पनि व्यबहारिक रुपमा कार्यान्वयन भएको पाइँदैन । त्यसैले लक्षमा पुग्न कार्यान्वयन पक्षमा निकै लगनशीलता र इमान्दारीपन देखाउनु आवश्यकता हुन्छ ।

विगका खेलकुदका इतिहासिक क्रियाकलापहरुलाई दिब्य दृष्टि गर्दा र केही खेलहरुमा हाल पनि केही प्रतिभावान विद्यार्थीहरुलाई खेलकुदको निम्ति छानिएर लामो समयको निम्ति काम भइरहेका छन् । तर विभिन्न कारणहरु जस्तै यस सम्वन्धी क्रियाकलापहरु सञ्चालन गर्ने कार्यमा अनुभवको कमी, शिक्षक–प्रशिक्षकहरुमा यस्को वैज्ञानिक तरिकाले काम गर्नेबारे अल्प ज्ञान हुने, अनावश्यक राजनीतिक हस्तक्षेप आदि कारणहरुले गर्दा पूर्ण लक्ष्य प्राप्त नभएको मान्न सकिन्छ ।

खेलकुदका सर्वमान्य सिद्धान्तअनुसार प्रतिभा पहिचान जटिल र लामो समयसम्म निरन्तर चल्नुपर्ने प्रक्रिया र विधि हो । हाम्रोजस्तो देशमा यस्ता खाले प्रयोगहरु सफल हुन गाह्रो हुन्छ । प्रतिभा पहिचान र उनीहरुको विकास प्रक्रिया निश्चय पनि दीर्घकालसम्म लागिरहनु पर्ने प्रक्रिया हो । खेलकुदका उच्च स्तरमा सफल भएका विभिन्न राष्ट्रहरुमा प्रतिभा पहिचान र विकास गर्ने प्रक्रिया–विधि फरक किसिमका र कार्यान्वयनमा पनि बैज्ञानिक छनोट प्रक्रियाहरु अबलम्व गरेको पाइन्छ । हाम्रो जस्तो देशमा विकसित मुलुक र खेलकुदका कहलिएका देशहरुमा जस्तैको खेलकुद पद्धति अंगाल्नु निक्कै गाह्रो हुने भएता पनि विद्यालयका खेलकुद शिक्षक–प्रशिक्षकहरुलाई यस सम्वन्धि केही ज्ञान दिने उद्देश्यले यस पुस्तक मार्फत लेखकले आफुले गरेका अध्ययन अनुसन्धान र अनुभव आदिको केही अंश नेपाली जनता समक्ष प्रस्तुत गर्न खोजिएको छ । सायद यस पुस्तकले नेपालमा खेलकुदका प्रतिभावान खेलाडीहरुको पहिचान र विकास गर्ने पद्धतिलाई भविश्यमा केही सहयोग पग्ने आशा गरिएको छ ।

आधुनिक विश्व खेलकुद जगतमा सफल राष्ट्रहरुमा आ–आफ्नै किसिमको खेलकुद प्रतिभा पहिचान गर्ने पद्धति र प्रक्रियाहरु छन । ठूला र साना राष्ट्रहरु अनि धेरै र थोरै जनसंख्या भएका देशहरुमा फरक फरक तरिका र पद्धतिले प्रतिभा पहिचान गर्ने र विकास गर्ने विधिहरु छन् । उनीहरुले लक्ष्य अनुुसार कार्यान्वयन पनि गरिरहेका छन् । यसै सन्दर्भमा खेलकुदमा प्रतिभा पहिचान गर्ने पद्धति र तरिकाभन्दा केही अलग र ज्वलन्त पुरानो सत्य तथ्यहरुलाई प्रस्तुत गर्नु सान्दर्भिक हुन्छ जस्तो लाग्छ ।

हामीले कहिले काहीं सुनेको हुनु पर्दछ कि पश्चिमी संगीतका बादशाहा मोजार्ट Wolfgang Amadeus Mozart – सन् १७५६ –१७९१) अष्ट्रियामा जन्मेका हुन र हालसम्म पनि उहांलाई बाध्यवादनका महान कलाकार मान्दछन् । मात्र चार वर्षको उमेरमा नै संगीतको कठीन कम्पोज वा रचनालाइ–कलात्मक सजावट गर्न सक्थो । ६ वर्षको कलिलो उमेर सम्म आई पुग्दा दुईवटा बाध्यवादन एकै साथ बजाउन सक्ने भएका थिए । “Allegris Misereri” भन्ने कठीन संगीत मात्र दुई पटक सुनेको भरमा उक्त संगीतको संपुर्ण कम्पोज–रचना लेखेर अच्चमको स्मरण शक्तिको प्रर्दशन गरेका थिए । हामीलाई लाग्न सक्छ यो कसरी संभव भयो होला ?

उस्का पिता लियोपोल्ड मोजार्ट एकदम महत्वाकांक्षि भ्वाएलिनिष्ट, संगीत कम्पोजर र संगीत कै प्राध्यापक थिए । उस्का बुबाले छोरा मोजार्टलाई एकदम कठीन प्रशिक्षण कार्यमा संलग्न गराउंदथे र ६ वर्षको उमेर सम्म आईपुग्दा ३५०० घण्टा वाध्यवादनको प्रशिक्षण पार गरीसकेका थिए । त्यसैले यस तथ्यलाई उल्लेख गर्नुको मुख्य उद्देश्य कुनै पनि ब्यक्तिको प्रतिभामा लगाव, संकल्प, पारिवारिक वातावरण, समाज, संपुर्ण देशको समर्थन घरायसी–समाजको वातावरणले प्रतिभा प्रस्फुटन हुने मौका र अवसर प्रदान भएको हुनु पर्दछ र यो संभव भएकोले नै महान संगीतकार वा त्यस्तै गरेर खेलकुद जगत र अन्य क्षेत्रका प्रतिभावान व्यक्तिहरुले आ–आफ्नो क्षेत्रमा सफल हुने वातावरण तयार हुन्छ ।

खेलकुदमा प्रतिभा पहिचान

अन्तराष्ट्रिय खेलकुद जगतमा सफल हुनको निम्ति विद्यार्थीहरुको कम उमेरमा नै प्रतिभाको पहिचान र उनीहरुको क्षमतालाई अभिबृद्धि गर्ने कार्यलाई सफल बनाउन ब्यवस्थित प्रशिक्षण गराउने कार्य नितान्त आवश्यक भैसकेको पाउँदछौ । स्वास्थ रहन र रमाईलोको निम्ति कुनै पनि ब्यक्तिले कुनै प्रकारका खेल खेल्न सक्दछ जस्ले गर्दा उनीहरुको बाल्यकाल रमाईलो र शारिरीक बृद्धिमा सकारात्मक प्रभाव पर्न सक्दछ । कुनै पनि ब्यक्तिहरुले गीत गाउने, नृत्य गर्ने, चित्रकला गर्ने जस्ता कृयाकलापहरु गर्न सक्दछ तर त्यसमध्य थोरै ब्यक्तिहरु मात्रै उच्च स्तरमा पुग्ने हुन्छन ।

त्यसैले गीत गाउने, नृत्य गर्ने, चित्रकला गर्ने जस्तै खेलकुदमा पनि उच्च स्तरमा सफल हुन कम उमेरमा नै प्रतिभाको पहिचान गरेर ब्यवस्थित बैज्ञानिक प्रशिक्षण र निरन्तर रुपमा रेखदेख गरेर उच्च स्तरमा पुग्न उनीहरुलाई मद्दत गर्न सकिन्छ । अन्तराष्ट्रिय खेलकुद जगतमा सफल राष्ट्रहरुको अनुभवले के सिद्ध गरिसकेका छन् भने प्रतिभावान खेलाडीहरुको–विद्यार्थीहरुको छनोटले विकास विना अन्तराष्ट्रिय स्तरमा सफल हुन सकिन्दैन । उनीहरुलाइ छनोट गरेर दिर्धकाल सम्म वैज्ञानिक तरीकाले कठोर प्रशिक्षण र निरन्तर रुपमा प्रतियोगिताहरुमा सहभागि पनि गराउनु पर्ने हुन्छ ।

खेलकुदको लागि प्रतिभावान विद्यार्थी उस्कोे वंशानुगत क्षमता र उक्त विद्यार्थी वासोवास गर्ने समाज–देशको खेलकुद वातावरणको प्रतिफल वा परिणाम हुन्छ । यदि कुनै विद्यार्थीमा त्यस्ता न्यूनतम आधारभूत क्षमता नभएको खण्डमा जतिसुकै वैज्ञानिक तरीकाले कठोर प्रशिक्षण गर्दा पनि सोचे अनुसारको लक्ष प्राप्त गर्न गाह्रो हुने हुन्छ । आस्ट्राण्ड र रोडालका (१९८६) अनुसार कुनै पनि व्यक्तिको उच्चस्तरको खेलकुद प्रदर्शण क्षमता उस्ले प्राप्त गरेको वंशानुगत गुणले सबैभन्दा महत्वपूर्र्ण भूमिका खेल्ने हुन्छ । प्रतिभावान खेलाडी भएतापनि उक्त विद्यार्थी वसोबास गर्ने समाज–देशमा उपलव्ध आधारभूत वातावरण, वैज्ञानिक प्रशिक्षण दिन सक्ने आवश्यक जनशक्तिको उपलब्धता र उस्को क्षमतालाई प्रस्फुटन हुन प्रतियोगिताको पद्धति, माहोल, अवसर र प्रतियोगिताको समयमा सुचना प्राप्त हुन सक्दैन भने त्यस्ता प्रतिभाहरु त्यसै खेर गैरहेका हुन्छन् ।

खेलकुदमा विभिन्न विज्ञानहरुको सहायताले कुन खेलको लागि प्रतिभावान हो भनेर सतप्रतिसत रुपमा थोकुवाका साथ भन्न सकिरहेको अवस्था पाईन्दैन । यी विज्ञानहरुको सहायताले जीवयान्त्रिक परीमितिहरु (parameters) जस्तै अक्सिजन लिन सक्ने क्षमता, शरीरमा भएको मांसपेशीको (छिटो र ढीलो तन्कने खुम्चने मांसपेशीको) अनुपात पत्तालगाउन सकेता पनि प्रर्याप्त हुँदैन । मानव स्नायु प्रणाली र मनोविश्लेषण जस्ता क्षेत्रहरुमा अझपनि वैज्ञानिक तरीकाले सतप्रतिशत ब्याख्या गर्न सकिरहेको पाइन्दैन । फलस्वरुप हालसम्म पनि हामीसंग सतप्रतिसत रुपमा प्रतिभावान खेलाडीहरुको पहिचान गर्न सकिरहेको पाईन्दैन । तर पनि विभिन्न देशहरुका खेलकुद विज्ञ, वैज्ञानिक, प्रशिक्षकहरु यस क्षेत्रमा काम गरीरहेका छन । एक्कईसौं सताव्दीका वैज्ञानिकहरु त मानिसहरुको वंशानुगत विज्ञानको सहायताले प्रतिभावान खेलाडीहरु पत्तालगाउने क्षेत्रमा सम्म निरन्तर रुपमा काम गरीरहेका छन् ।

खेलकुदमा प्रतिभा पहिचान विभिन्न देशमा फरक फरक तरीकाहरु अपनाएर काम गरीरहेको भएता पनि सन १९६० र १९७० को दशकमा धेरै जसो पूर्वी युरोपका देशहरुमा यस क्षेत्रमा ठूलो मेहनत र बैज्ञानिक तरीकाहरु अपनाएर काममा संलग्न भएर ओलम्पिक र अन्य अन्तराष्ट्रिय प्रतियोगिताहरुमा उल्लेख्य सफलताहरु पनि प्राप्त गरीसकेको उदाहरणहरु पाईन्छन् ।

विभिन्न खेलकुदका बैज्ञानिकहरु अनि अनुभवि प्रशिक्षकहरुको सामुहिक प्रयासले अन्तराष्ट्रिय खेलकुदका प्रतियोगिताहरुका प्राप्त गरेका नतिजाहरुलाई नाटकिय भन्दा बढी मान्नु पर्दछ । यस क्षेत्रमा सबैभन्दा सफलतम देशमा पूर्वी जर्मनको उदाहरण अग्रपंटीमा आउंदछ । पूर्वी जर्मनको सन् १९७२ को ओलम्पिक टिमका केही स्वर्ण पदक विजेता खेलाडीहरु बैज्ञानिक तरीकाले प्रतिभावान खेलाडीको रुपमा सानै उमेरमा छानिएका थिए । त्यस्तै बुल्गेरीयाको सन् १९७६ को ओलम्पिक खेलमा पनि अधिकांश खेलाडीहरु यसरी नै छानिएका थिए । करीव ८० प्रतिसत पदक विजेताहरु यसरी नै प्रतिभावान खेलाडीहरुको रुपमा वाल्यकाल देखि नै छानिएका थिए ।

दुङ्गा ख्याउने (रोईङ्ग) खेलका विशेषज्ञहरुको समुहले २७,००० जना युवतीहरुवाट १०० जना प्रतिभावान खेलाडीको रुपमा छानेका थिए । सन् १९८७ सम्म आई पुग्दा २५ जनालाई उतकृष्टको रुपमा छानिएका थिए र सन् १९८० को मस्को ओलम्पिकमा एक स्वर्ण दुई कास्य प्राप्त गरेका थिए । त्यस्तै सन् १९७० मा छानिएका अर्को समुहले १९८४ को लसएञ्जल्स ओलम्पिकमा ५ स्वर्ण, १ रजत र सियोल (१९८८) ओलम्पिकामा ९ वटा पदकहरु जित्न सफल भएका थिए । अन्तराष्ट्रिय खेलकुद प्रतियोगिताहरुमा प्रतिभा पहिचान र विकासको निति अंगाल्ने राष्ट्रहरुमा पूर्वी जर्मन अग्रपंतिमा आउदछ । त्यसवेला पूर्वी जर्मनको कम्युनिष्ट सरकारले प्रतिभा पहिचान र विकास कार्यक्रमलाई पूर्ण रुपमा समर्थन गरेको थियो र निकै सफलताहरु पनि प्राप्त गरेका थिए ।

त्यस बेला ती खेलहरुमा विद्यालयका स–साना विद्यार्थीहरुको बिचमा वैज्ञानिक प्रतिभा पहिचान गर्दथे । पूर्वी वर्लिनको सिलेन्वाईण्डर खेलकुद स्कुल सबैभन्दा ठूलो प्रतिभाहरुकोलागि विषेश स्कूलको रुपमा विकास गरेका थिए । जिम्नास्टिक जस्ता खेलहरुको निम्ति कक्षा तीन देखि प्रतिभा छनोट गरिन्थ्यो भने भारत्तोलन, रोईङ्ग (Rowing) जस्ता खेलहरुको लागि कक्षा ९–१० का विद्यार्थीहरुवाट प्रतिभा छनोट गरिन्थ्यो । यस्को कारणले यस स्कूलबाट तयार गरीएका खेलाडीहरुले कुनै एक राष्ट्रले प्राप्त गरेको ओलम्पिक पदकहरु भन्दा बढी पदकहरु प्राप्त गरेका छन् ।

हामीलाई थाहा छ कि सन् १९९० मा दुबै जर्मनीको एकिकरण भए देखि सन् २००० सम्म जर्मनीको ओलम्पिक टिमको प्रदर्शन त्यति राम्रो मान्न सकिन्दैन । पदक तालिकामा प्रथम पाँच भित्र परेता पनि प्रत्येक ओलिम्पिकमा जर्मनीको पदक संख्या धट्दै गैरहेको पाउंदछौ । सन् १९९० मा एकिकरण पश्चात कम्युनिष्ट खेलकुद प्रणाली भनेर हेय–धृणा दृष्टिले हेरेता पनि सन् १९९२ देखि १९९६ का ओलम्पिकमा जति पदकहरु जितेका थिए त्यस्को दुई तिहाई पदकहरु पूर्वी जर्मनीका खेलाडीहरुले जितेका थिए । त्यस्तै सन् २००२ को विश्व कप फुटबलका प्रथम एधार खेलाडी मध्ये ६ जना खेलाडीहरु पूर्वी जर्मनीका थिए । हाल आएर संयक्त जर्मनी सरकारले विद्यालय खेलकुदको निति पूर्वी जर्मनीको पहिलेको खेलकुद नितिलाई विस्तारै अंगालेर २१ वटा विद्यालय र पश्चिम जर्मनमा १४ वटा विद्यालयहरुमा उस्तै प्रकारको खेलकुद स्कुलहरुलाई केन्द्रीय सरकारले प्रत्यक्ष सहयोग गर्न थालेको पाईन्छ । जर्मनी सरकारका खेदकुद पदाधिकारीहरुका अनुसार अर्को ४५ देखि ५० खेलकुद स्कूलहरु थप गर्ने लक्ष वनाएका वनाएका छन् ।

त्यस्तै कम जनसंख्या भएको देश अष्ट्रेलियाको गएको पाँच ओलम्पिक पदक तालिका हेर्ने हो भने उक्त देशको पदक संख्या बढ्दै गएको पाउंदछौ । अष्ट्रेलियाले पनि पूर्वी जर्मनीको खेलकुद प्रतिभा पहिचान र विकासका केही पद्धतिहरुलाई सन् २००० को सिडनी ओलम्पिक भन्दा अगाडी देखि नै अंगालेको पाईन्छ ।

माथिको तालिकाबाट प्रतिभावान खेलाडीहरुको पहिचान र विकासको निति अंगालेका देशहरुको पदक जीत्ने प्रतिशत वृद्धि हुँदै गएको पाइन्छ । जर्मनीको पदक संख्या प्रतिशत प्रत्येक ओलम्पिकमा कम कम हुदै गएको पाइन्छ भने अर्को तर्फ अत्यधिक र कम जनसंख्या भएका देशहरु क्रमशः चीन र अष्ट्रेलिया देशहरुको पदक प्रतिसत बढ्दै गएको पाइन्छ ।

ओलम्पिक खेलकुद प्रतियोगिताहरुमा पाँच उत्कृष्ट देशहरुका योजनाबद्ध प्रतिभा पहिचान गरीने युवा जनसंख्या र प्रतिभा संख्या
देश बर्ष १०– १४ (मिलियनमा) बर्ष १५– १९ (मिलियनमा) जम्मा संख्या (मिलियनमा) प्रतिभा संख्या (मिलियनमा)

अष्ट्रेलियाले सन् १९७६ को ओलम्पिकमा कुनै स्वर्ण पदक जित्न असफल भएपछि सन् ८० को दशकदेखि विधिवत् प्रतिभा पहिचान र विकासको निति लिएको कारणले कम जनसंख्या भएता पनि ओलम्पिकमा तुलनात्मक रुपमा सफल भएको पाइन्छ ।

प्रतिभा पहिचान गर्ने शिलसिलामा बैज्ञानिक आदर्श–सिद्धान्तहरु प्रयोग गर्दा निम्न फाइदाहरु हुन्छन : –

१. समयमा प्रतिभा पहिचान गरेको खण्डमा उस्लाइ बैज्ञानिक तरीकाले ठीक समयमा ठीक तरीकाले प्रशिक्षण गर्दा समयको बचत हुने र उच्च स्तरमा छिटो पुर्‍याउन सकिन्छ ।

२. कहिले काहीं ठीक प्रतिभा भएको खेलाडी ठीक प्रशिक्षकको हात लागेको खण्डमा समय र प्रयासको धेरै बचत हुन्छ । उचित खेलाडी दक्ष प्रशिक्षकको हातमा परेको खण्डमा प्रशिक्षणको प्रभावकारीता पनि बृद्धि हुने हुन्छ ।

३. यस पद्धतिको कारणले उस्तै प्रतिभायुक्त खेलाडीहरुको बिचमा बढी प्रतिस्पर्धा हुने हुन्छ छिटो उच्चस्तरमा पुग्ने संभावना हुन्छ । जस्को कारणले राष्ट्रिय स्तरमा समान प्रतिभावान खेलाडीहरुको संख्या बृद्धि हुने र अन्तमा अन्तराष्ट्रिय स्तरका खेलाडीहरु बढी क्षमतावान हुने हुन्छ ।

४. प्रतिभावान खेलाडीहरुको प्रकृयामा समावेश भएका खेलाडीहरुको मनोभावना उच्च हुने र बढी आत्माविश्वासी हुन्छन् कारण यस प्रकृयामा प्रशिक्षण नगरेका र समान उमेर भएता पनि प्रगतिको स्तरमा विकासको क्रममा उतारचढाव हुने हुन्छ ।

५. यस प्रकृयामा खेलकुद विज्ञानका विज्ञहरु पनि समावेश हुने भएकोले वैज्ञानिक प्रशिक्षण र मुल्याङण प्रकृयामा पनि साथ–साथै काम गर्ने भएकोले प्रत्येक्ष रुपमा संपुर्ण प्रकृयामा सहयोग पुग्ने हुन्छ ।

प्रतिभा पहिचानका पद्धतिहरु

आधुनिक खेलकुदमा सफलता प्राप्त गर्न विभिन्न देशहरुमा आफ्नो समाज, सरकारको खेलकुद निति र पद्धति, विद्यालयमा खेलकुद कृयाकलाप र प्रतियोगिताको पद्धति अनुसार सामाञ्जस्यता मिल्ने गरी विभिन्न खेलकुदहरुमा प्रतिभा पहिचान र विकासका प्रकृयाहरु फरक फरक किसिमले खेलकुद विज्ञानको मद्दतले संचालन गरीरहेका हुन्छन । यस क्षेत्रमा विशेष गरी तीन प्रकारमा खेलकुद प्रतिभा पहिचान पद्धतिहरुमा विभाजन गर्न सकिन्छ ।

क. गैर–विधिपूर्वक वा प्राकृतिक प्रतिभा छनोट

यस प्रकारको पद्धतिमा साधारण प्रकारले खेलाडी–विद्यार्थी विकासको प्रकृया हुन्छ । यस्मा खेलाडी–विद्यार्थीहरु स्वतन्त्र रुपमा खेलकुदका कृयाकलापहरुमा सहभागि हुन्छन (विद्यार्थी पढेको स्कूलमा जुन खेलको परम्परा , अभिभावकको इच्छा , साथीहरुको संगत ) । यस्तो प्रकृयामा उक्त विद्यार्थीको प्रतिभा छ–छैन कुनै विचार पुगेको हूदैन र उस्को जुन गतिमा प्रतिभाको विकास हुनू पर्ने थियो त्यो हुन पनि सक्छ वा नहून पनि सक्छ , कुनै सुनिश्चितता हुदैन । यस्तो अवस्थामा कुनै बेलामा प्रतिभा एउटा खेलमा भएता पनि स्कुलको परंम्परा, अभिभावकको इच्छा , साथीहरुको संगत आदिकारणहरुले गर्दा गलत खेलमा लाग्नाले संपूर्ण खेलकुद भविश्य नै अनिश्चतता र मात्र समयको बर्वाद हुने संभावना हुन्छ ।

ख. बैज्ञानिक विधिपूर्वक र सरकारीय पद्धति

सन् १९५० को दशक देखि धेरै जस्तो कम्यिुनिष्ट राष्ट्रहरुले खेलकुद बैज्ञानिकहरु र दक्ष्य अनुभवि प्रशिक्षकहरुको संयक्त प्रायासले प्रतिभावान खेलाडीहरुको बाल्यकाल देखिनै पहिचान गरेर विभिन्न खेलकुदका विशेष स्कूलहरुमा बैज्ञानिक प्रशिक्षण गर्दथे । हालआएर धेरैजसो पश्चिमा देशहरु जस्तै क्यानाडा, चीन, कोलम्बिया, ईक्वेडोर, नर्वे, साउथ अफ्र्रिका, स्पेन, टाइवान, अमेरीका जस्ता देशहरुले पनि यसै नीतिलाई अंगालेको पाईन्छ । यस्मा खेलाडीहरुको प्रदर्शन क्षमतालाई बैज्ञानिक प्रशिक्षण पद्धतिले विकास गर्ने भएकोले समयको वचत हुने हुन्छ । बास्केटवल, भलिबल, फुटबल, रोइङ्ग, थ्रोइङ्ग इभेन्टहरुमा बढी शारीरिक उचाइ र तौलको आवश्यकता हुने खेलहरुको निम्ति प्रतिभावान खेलाडीहरुको छनोट गर्दा निक्कै बैज्ञानिक तरीका अपनाउनु पर्ने हुन्छ । यस्तै प्रकारले जुन खेलहरुमा तिब्र गति, छिटो प्रतिकृया दिनु पर्ने, शारीरिक अंगहरुको सामाञ्जस्यता, तिब्र शतिmको प्रदर्शन गर्नु पर्ने खेलहरु जस्तै छोटो दौड, जुडो, हक्कि, जम्पिङ्ग खेलहरुका प्रतिभावान खेलाडीहरु पहिचान गर्दा पनि धेरै खेल विज्ञानको र दक्ष्य प्रशिक्षकहरुको अनुभवलाई काममा लगाउनु पर्ने हुन्छ ।

ग. बैज्ञानिक विधिपूर्वक र गैर सरकारीय पद्धति

टेनिस, स्विमिङ्ग, एथलेटिक्स र अन्य अन्तराष्ट्रिय खेल संस्थाहरुले पनि विभिन्न खेलाडीहरुका वर्ष वर्गिकरण गरेर क्षेत्रीय र अन्तराष्ट्रिय प्रतियोगिताहरुको विकास गर्न थालेका छन । यसैको माध्यमवाट प्रतिभावान खेलाडीहरुलाई निरन्तर प्रशिक्षण र प्रतियोगिताहरुको माध्यमवाट उनीहरुको सीपको विकास र विस्तारमा निरन्तरता दिन खोजेका छन् ।

अमात्य खेलकुदविज्ञ हुन् ।