भुटानका राजा वाङचुकले गरे कुम्भमेलामा स्नान

भुटानका राजा वाङचुकले गरे कुम्भमेलामा स्नान



काठमाडौं । भुटानका राजा जिग्मे खेसर नामग्याल वाङचुकले कुम्भमेलामा स्नान गरेका छन् । उनले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसहित गंगामा स्नान गरेका हुन् ।

लखनउस्थित चौधरी चरण सिंह अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेर मुख्यमन्त्री आदित्यनाथले भुटानका राजालाई गंगासम्मै लिएर गएका हुन् ।

भुटानी नरेशले गंगा पूजा र आरती पनि गरेका छन् । त्यसपछि उनी अक्षयबटधाम तथा लेटे हनुमानको पनि दर्शन र पूजा गर्न पुगे ।

मुख्यमन्त्री योगी आदित्यनाथ भुटानी राजालाई लिएर लखनउबाट बमरौली एयरपोर्टमा उत्रिए । त्यसपछि सडकमार्ग हुँदै दुवैजना कुम्भमा स्नान गर्न पुगे । अरैलीले घाटबाट बोट चढेर संगममा डुबुल्की लगाएको भारतीय सञ्चारमाध्यामले लेखेका छन् ।

योगी तथा भुटानका राजा आएपछि हनुमान मन्दिर तथा अक्षयबटमा श्रद्धालुका लागि ढोका बन्द गरिएको थियो । मंगलबार साँझ ४ बजेपछि श्रद्धालुका लागि उक्त स्थान खोलिने छ ।

मंगलबार महाकुम्भको २३ औँ दिन भएको छ । अहिलेसम्म ३७ करोड मानिसले स्नान गरिसकेका छन् । मंगलबार मात्रै बिहान १० बजेदेखि ४२ लाख बढीले स्नान गरिसके बताइएको छ । सोमबार २ करोड ३३ लाखले स्नान गरेको भारतीय सञ्चारमाध्यामले लेखेका छन् ।