काठमाडौं । काठमाडौंकाे बागबजारमा रहेको पद्मकन्या बहुमुखी क्याम्पस अगाडिको सडकमा पैदलयात्रु आफैँले बटन थिचेर ट्राफिक लाइट बाल्ने प्रविधि सञ्चालनमा आएको छ ।
ट्राफिक प्रहरीसँगको सहकार्यमा काठमाडौं महानगरपालिकाले पद्मकन्या क्याम्पस अगाडिको सडकमा पेलिकन क्रसिङ सञ्चालनमा ल्याएको हो । पैदलयात्रुको सुरक्षालाई ख्याल गरेर महानगरपालिकाले अहिलेसम्म ३६ वटा ठाउँमा पेलिकन क्रसिङ सञ्चालनमा ल्याएको महानगरका ट्राफिक विज्ञ सल्लाहकार जगतमान श्रेष्ठले बताए ।
उनले सडक दुर्घटना न्यूनीकरण र यात्रुको सुरक्षाका लागि उक्त प्रविधिको अवधारणा ल्याइएको उल्लेख गरे ।
श्रेष्ठका अनुसार पेलिकन क्रसिङ गर्दा यात्रुले बटन थिच्नेबित्तिकै केही समयका लागि गाडी रोकिनेछन् र यात्रुले ढुक्कका साथ क्रस गर्न सक्नेछन् । यात्रुको सुरक्षालाई मध्यनजर गर्दै महानगरले अन्य ठाउँमा समेत ट्राफिक लाइट बाल्ने प्रविधि शुरू गर्न लागेको उनकाे भनाइ छ ।
सडक सुरक्षाका लागि जेब्रा क्रसिङमा ट्राफिक लाइट राखिनु उदाहरणीय काम भएको भन्दै पैदलयात्रु खुशी भएका छन् । पद्मकन्या बहुमुखी क्याम्पसको जनसङ्ख्या अध्ययन विभागकी प्रमुख भगवती सेढाईंले सडक दुर्घटनामा कसैले पनि ज्यान गुमाउन नपरोस् भनेर ट्राफिक लाइट सञ्जालनमा आएको बताए ।
काठमाडौं महानगरपालकाले सडक सुधार आयोजनाअन्तर्गत पेलिकन लाइट जडानको काम गरिरहेको छ ।
प्रतिक्रिया