रिंकु मृत्यु प्रकरणमा आठ जना पक्राउ

रिंकु मृत्यु प्रकरणमा आठ जना पक्राउ



सिरहा । सिरहाको नवराजपुर गाउँपालिका-१, भगवानपुरकी रिंकु सदाको मृत्यु प्रकरणमा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ ।

बलात्कारको घटना मिलाउनमा संलग्न रहेको आठ जनालाई पक्राउ गरिएको वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) शान्तिराज कोइरालाले बताए ।

स्थानीय तीन युवकले गत माघ २७ गते बलात्कार गरेको रिंकुले बताएकी थिइन् । त्यसपछि पञ्चायत बसेर बलात्कारको घटनामा मिलापत्र गरिएको थियो ।

पञ्चायत बसेर बलात्कारको आरोप लागेका रूपेश मण्डलबाट एक लाख ५० हजार रुपैयाँ जरिवाना भराउने निर्णय गरेको थियो । त्यसको तीन दिनपछि माघ ३० गते रिंकु आफ्नै घरमा मृत भेटिएकी थिइन् । उनको हत्या गरिएको परिवारजनको दाबी छ ।

यसमा रिंकुकी आमा सीतादेवीले फागुन ८ मा आठ जना विरुद्ध इलाका प्रहरी कार्यालय, लहानमा पूरक जाहेरी दिएकी थिइन् । त्यसमा रूपेश मण्डलसँगै चन्दन साह, रामविनय मण्डल, नठुनी साह, रामपुकार मण्डल, रामकृपाल मण्डल, रामप्रीत साह र विन्देश्वर साहलाई विपक्षी बनाइएको थियो ।

अहिले प्रहरीले बलात्कारको घटना मिलाउनमा संलग्न आठ जनालाई पक्राउ गरेको हो । बलात्कारको आरोप लागेका रूपेश मण्डल, चन्दन साह र रामविनय मण्डल भने फरार छन् ।