काठमाडौं । नवलपरासी पश्चिमको पाल्हिनन्दन गाउँपालिका–३ स्थित बेलासपुरमा स्थानीय दुई समूहबीच झडप हुँदा अवस्था तनावग्रस्त बनेको छ ।
आज बिहान करिब ९ बजे भएको झडपमा प्रहरी र स्थानीय गरी १५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
स्थिति नियन्त्रणमा लिन प्रहरीले केही राउण्ड हवाई फायर समेत गरेको छ ।
करिब तीन महिनाअघि गाउँका युवायुवतीबीच भागी विवाह भएको थियो । सोही विषयलाई लिएर केटी पक्षले केटाका बुवालाई गत माघमा कुटपिट गरेका थिए ।
सोही घटनाका कारण उनीहरूबीच द्वन्द्व बढेपछि वडा कार्यालयको पहलमा जिल्ला प्रहरी कार्यालयमा मिलापत्र पनि भएको थियो ।
तर, सोमबार राति फेरि केटी पक्षका आफन्तले केटाका भाइलाई बाटोमै रोकेर कुटपिट गरेका थिए । कुटपिटबाट घाइते भएका युवकको पृथ्वीचन्द्र अस्पताल परासीमा उपचार भइरहेको प्रहरीले जानकारी दिएकाे छ ।
यो घटनापछि गाउँलेहरू दुई पक्षमा विभाजित भइ कुटपिटमा उत्रिएका थिए । प्रहरीले बल प्रयोग गरेर अहिले स्थिति नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया