काठमाडौं । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले युक्रेनको शान्तिको अर्थ ‘आत्मसमर्पण’ हुन नसक्ने बताएका छन् ।
फ्रान्सेली राष्ट्रपति म्याक्रोँले ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग रुस–युक्रेन युद्धबारे छलफल गरेपछि युक्रेनमा हुने कुनै पनि शान्ति सम्झौतामा सुरक्षा ग्यारेन्टी हुनुपर्ने बताउनुभएको बीबीसीले जनाएको छ ।
संयुक्त पत्रकार सम्मेलनमा म्याक्रोँले शान्तिको अर्थ युक्रेनले आत्मसमर्पण गर्न नहुने र विना ग्यारेन्टी युद्धविराम गर्न नहुने उल्लेख गरे । यस्तै अमेरिकी राष्ट्रपति ट्रम्पले युक्रेनमा शान्ति सुनिश्चित गर्ने खर्च अमेरिकाले मात्र नभई युरोपेली देशले बेहोर्नुपर्ने बताएका छन् ।
ट्रम्पलाई जवाफ दिँदै म्याक्रोँले युरोपले सुरक्षा खर्चलाई समान रूपमा बाँडफाँट गर्नुपर्ने आवश्यकता बुझेको बताएकाे खबरमा उल्लेख छ । रुसले युक्रेनमा आक्रमण शुरू गरेको तेस्रो वर्षगाँठमा भएको वार्ताले अगाडि बढ्ने बाटो देखाएको उनको भनाइ छ ।
ट्रम्पले आफू जतिसक्दो चाँडो युद्धविराम चाहेको र त्यसमा सहमति भएपछि राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेट्न रुस जाने बताएका छन् । भर्खरै युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शान्ति वा नाटोको सदस्यता पाएमा आफू राजीनामा दिन तयार रहेको बताएका थिए ।
प्रतिक्रिया