अमेरिकालाई चीनकाे चेतावनी : ‘कुनै पनि प्रकारको युद्धका लागि तयार छाैं’

अमेरिकालाई चीनकाे चेतावनी : ‘कुनै पनि प्रकारको युद्धका लागि तयार छाैं’



काठमाडौं । चीनले अमेरिकालाई आफू जस्तोसुकै युद्ध गर्न तयार रहेको चेतावनी दिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले करवृद्धि गर्ने निर्णय गरेपछि त्यसको जवाफ दिँदै चीनले यस्तो चेतावनी दिएको बीबीसीले जनाएको छ ।

ट्रम्पले सबै चिनियाँ सामानमा कर बढाएपछि चीनले पनि अमेरिकी कृषि उत्पादनहरूमा १० देखि १५ प्रतिशत शुल्क लगाउने घोषणा गरेको छ । अमेरिकाले कर युद्ध, व्यापार युद्ध वा अन्य कुनै युद्ध चाहेको खण्डमा त्यसका लागि तयार रहेको चिनियाँ दूतावासले सामाजिक सञ्जालमा लेखेको छ ।

ट्रम्प राष्ट्रपति बनेपछि चीनको यो सबैभन्दा कडा प्रतिक्रिया हो । यो प्रतिक्रिया चीनका नेताहरू नेशनल पिपुल्स कंग्रेस (एनपीसी) को वार्षिक सत्रका लागि बेइजिङमा भेला भएका बेला आएको हो ।

हिजो मात्रै चिनियाँ प्रधानमन्त्री ली किआङले चीनले यस वर्ष आफ्नो रक्षा खर्च ७ दशमलव २ प्रतिशतले बढाउने घोषणा गरेका थिए । चिनियाँ नेताहरूले व्यापार युद्धको खतराका बाबजुद पनि नागरिकलाई देशको अर्थतन्त्र बढ्न सक्नेमा विश्वस्त रहेको सन्देश दिन खोजिरहेका छन् ।

अमेरिकाको तुलनामा चीनले आफ्नो छवि स्थिर र शान्तिपूर्ण देशको रूपमा प्रस्तुत गर्न खोजेको देखिन्छ । चीनले क्यानडा र मेक्सिको जस्ता अमेरिकी सहयोगीहरूमा ट्रम्पको निर्णयको प्रभावलाई आफ्नो फाइदामा बदल्ने आशा गर्न सक्ने बीबीसीको खबरमा उल्लेख छ ।