बाँके । बाँकेको कोहलपुरमा अति विपन्न समुदायका लागि ४० लाख रुपैयाँको लागतमा नमूना बस्ती निर्माण शुरू भएको छ । कोहलपुर नगरपालिका–१४ हवल्दारपुरमा रहेका चिडिमार तथा खटिक परिवारका लागि बस्ती निर्माण थालिएको हो ।
नगरपालिकाको पहलमा छिमेक सेवा समाजले अति विपन्न चिडिमार तथा खटिक समुदायलाई घर बनाइदिने भएपछि वर्षाैंदेखि छाप्रोमा सकसपूर्ण जीवन बिताइरहेका उनीहरू पक्की घरमा बस्न पाउने छन् ।
नमूना बस्ती निर्माण कार्यक्रमअन्तर्गत पहिलो चरणमा आठ घर निर्माण थालिएको कोहलपुर नगरपालिकाका मेयर पूर्णप्रसाद आचार्यले बताए । विपन्न परिवारको जीवनस्तर माथि उठाउने स्थानीय सरकारको कर्तव्य भएकाले नमूना बस्ती निर्माण शुरू गरिएको उनले बताए ।
समाजले अन्य ठाउँमा पनि विपन्न समुदायका लागि नमूना बस्ती निर्माण कार्यक्रमअन्तर्गत आवास बनाउने भएको छ ।
हवल्दारपुरमा झन्डै ३० परिवार चिडिमार र खटिक समुदायको बसोबास रहेको छ । आठ वटा घरका लागि शौचालय, पानी र बाटोका लागि स्थानीय सरकारले सहयोग गर्ने छ ।
सामाजिक अभियन्ता एलबी कार्कीले आउँदो असार मसान्तसम्म निर्माण सम्पन्न गर्नेगरी काम शुरू गरिएको बताए । संस्थाले दुईकोठे पक्की घर बनाइदिनेछ ।
वर्षौंदेखि झुप्रोमा बस्दै आएका उनीहरू पक्की घर पाउने भएपछि खुशी छन् । गर्मीयाममा जसोतसो दिनरात कटे पनि वर्षायाम र चिसोयाममा सकसपूर्ण अवस्था बेहोर्नुपरेको मोलहे खटिकले दुखेसो सुनाए ।
प्रतिक्रिया