काठमाडौं । राष्ट्रिय समाचार समितिका पूर्वअध्यक्ष एवं वरिष्ठ पत्रकार माथवरसिंह बस्नेतको निधन भएको छ । उनको आज बिहान हृदयाघातबाट ७९ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
भक्तपुरको सूर्यविनायक नगरपालिका–८ निवासी बस्नेतलाई बिहीबार राति घरमै हृदयाघात भएपछि काठमाडौंस्थित अन्नपूर्ण न्युरो अस्पताल भर्ना गरिएको थियो ।
उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेकै अवस्थामा निधन भएको हो । नेपाली कांग्रेस भक्तपुर जिल्ला कार्य समितिका सचिव सुशील बस्नेतका अनुसार उनको आजै पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिने छ ।
गोरखापत्र संस्थान तथा प्रेस काउन्सिल नेपालका समेत पूर्वअध्यक्ष बस्नेत पुर्नजागरण साप्ताहिकका संस्थापक सम्पादक समेत थिए । गणेशमान सिंहसँग नजिक भएर लामो समय राजनीतिमा सक्रिए रहेका उनी हाल गणेशमान सिंह स्मृति बाटिकाको समेत अध्यक्ष थिए । पछिल्लो समय नेपाली कांग्रेस भक्तपुरको राजनीतिमा सक्रिय रहेका बस्नेत २०१७ सालदेखि राजनीतिमा होमिएका थिए ।
प्रतिक्रिया