अमेरिका र रुसबीच युक्रेन युद्धबारे साउदी अरबमा वार्ता शुरु

अमेरिका र रुसबीच युक्रेन युद्धबारे साउदी अरबमा वार्ता शुरु



अमेरिका र रुसबीच युक्रेन युद्धबारे साउदी अरबमा वार्ता शुरु भएको छ । वासिङ्टन र किएभका प्रतिनिधिहरूबीच छलफल भएको एक दिनपछि अमेरिकी र रुसी अधिकारीहरूले युक्रेन युद्धमा आंशिक युद्धविराम गर्ने विषयमा सोमबार साउदी अरबमा वार्ता शुरु गरेका हुन् ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले रियादमा हुने वार्ताले सफलताका लागि मार्ग प्रशस्त गर्ने आशा व्यक्त गरेका छन् । दुवै पक्षले अस्थायी युद्धविरामका लागि फरक–फरक योजना अघि सारेका छन् ।

रक्षामन्त्री रुस्तम उमरोभको नेतृत्वमा रहेको युक्रेनी टोली र अमेरिकी सेनाबीच आइतबार अबेर राति भेटवार्ता सम्पन्न भएको थियो । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्ण युद्धविरामका लागि तत्काल ३० दिनको वार्ता गर्ने अमेरिका र युक्रेनको संयुक्त आह्वानलाई अस्वीकार गरेका छन् ।