सरकारले सुकुम्बासी बस्तीमा खानेपानी नदिएर अपराध गरेको छ : प्रभु साह

सरकारले सुकुम्बासी बस्तीमा खानेपानी नदिएर अपराध गरेको छ : प्रभु साह



काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले सरकारले सुकुम्बासी बस्तीमा खानेपानी नदिएर मानवता विरोधी अपाराध गरेको बताएका छन् । उनले सरकारले सुकुम्बासी बस्तीमा खानेपानी नदिएर नाकाबन्दी गरेको टिप्पणी गरे ।

काठमाडौंको बिभिन्न ठाउँमा रहेका सुकुम्बासी बस्तीमा आजपा अध्यक्ष साहले उनीहरुको अवस्था बुझ्दै विभिन्न समस्याको बारेमा छलफल गरेका छन् । मंगलबार काठमाडौंका सुकुम्बासी बस्तीमा पुगेका साहले सुकुम्बासी बस्तीमा खानेपानी नदिएर सरकार अमानविय अपराध गरेको बताउदै खानेपानीको व्यवस्था गर्न माग गरेका छन् ।

‘सरकारले सुकुम्बासी बस्तीमा खानेपानीको व्यवस्था गरेको छैन् । उनीहरुलाई शुद्ध खानेपानी नदिएर सरकारले मानवता विरोधी अपराध गरेको छ । फोहोर पानीमा डुब्ने, सरकारलाई कर दिने, उम्मेदवारलाई मतादान गर्ने तर उनीहरुलाई खानेपानी नदिएर सरकारले नाकावन्दी नै गर्यो । उनीहरुको समस्या समाधान गर्न सरकारले चासो दिएन्, यो ठिक होईन् । हामी त्यतिकै छोड्दैनौं’, आजपा अध्यक्ष साहले भने, ‘सुकुम्बासी बस्तीका समस्या समाधान गरी उनीहरुलाई व्यवस्थित रुपमा गाँस, बाँस र कपासको व्यवस्था सरकारले गर्न आवश्यक छ ।’

सरकारमा रहेका प्रधानमन्त्री, मन्त्री र केही सिमित नेताहरुले आफ्नो क्षेत्रको समस्या मात्रै समस्याको रुपमा बुझेको बताउदै उनले काठमाडौंको बिभिन्न ठाउँमा रहेका सुकुम्बासी बस्तीहरुको समस्या समाधान गर्नुपर्ने जोड दिए । नेताहरुले आफ्नो क्षेत्रमा लालपुर्जा बाँड्ने तर काठमाडौंको सुकुम्बासी समस्या समाधानमा चासो नदिएको उनले बताए । काठमाडौंका सुकुम्बासीहरुलाई लालपुर्जा दिएर यो समस्या समाधान गर्नुपर्ने उनले बताए ।

अहिलेको दलाल एवं लुटकारी दलतन्त्रका कारण सुकुम्बासीको समस्या समाधान हुन नसकेको बताउदै उनले दलाल दलतन्त्रको अन्त्य र सुकुम्बासी समस्याको समाधानका लागि तेस्रो जनआन्दोलनमा सहभागि हुन उनले आग्रह गरेका छन् ।

दलाल एवं लुटकारी दलाल दलतन्त्रको अन्त्यका लागि तेस्रो जनआन्दोलनको घोषणा गरेका साह यतिवेला आन्दोलन सफल बनाउने रणनीतिका साथ भेटघाट एवं छलफलमा रहेका छन् । उनले गत वर्षको चैत्र २४ गते भृकुटीमण्डपबाट नै तेस्रो जनआन्दोलनको ऐलान गरेका थिए । सोहीअनुसार यही चैत्र २४ गते भृकुटीमण्डपमा आयोजना हुने तेस्रो जनआन्दोलन कार्यक्रमलाई सफल बनाउनको लागि उनी सुकुम्वासी अगुवाहरुसँग छलफलमा गरेका हुन् ।