रुसी सेनामा ज्यान गुमाएका नेपालीका आफन्त क्षतिपूर्ति खाेज्दै पुगे मस्काे

रुसी सेनामा ज्यान गुमाएका नेपालीका आफन्त क्षतिपूर्ति खाेज्दै पुगे मस्काे



काठमाडौं । रुसी सेनामा भर्ना भएर युक्रेनसँगको युद्धमा ज्यान गुमाएका १६ जना नेपालीका आफन्त राहत र क्षतिपूर्तिको खोजीका लागि रुस पुगेका छन् ।

रुसको राजधानी मस्कोमा रहेको नेपाली दूतावासको सिफारिशमा १६ जनालाई रुस जान अनुमति दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । रुस जानेहरूमा धेरैजसो ज्यान गुमाउने सैनिकका श्रीमती छन् । कानूनी हकदार नै चाहिने भएकाले धेरैजसो श्रीमतीहरू नै गएका हुन् ।

कन्सुलर सेवा विभागका कार्यवाहक महानिर्देशक लेखनाथ गौतमका अनुसार बेपत्ता रहेका भनिएका केही व्यक्तिका परिवारका सदस्य पनि आफन्तको खोजी गर्दै रुस गएका छन् । युक्रेनसँगको युद्धमा रुसको तर्फबाट लड्न भर्ना भएका नेपालीमध्ये ४९ जनाको ज्यान गएको पुष्टि भएको र झन्डै सय जना बेपत्ता रहेका परराष्ट्र मन्त्रालयले जनाएको छ ।

पहिचानका लागि डीएनए नमूना पठाएका ६५ जनाको परिणाम आएको छैन । क्षतिपूर्ति वा बेपत्ता आफन्तको खोजी गर्दै रुस पुगेका परिवारका सदस्यहरूले प्रक्रिया चलिरहेको बताएका छन् ।

रुसले ज्यान गुमाएका नेपाली रुसी सैनिकका परिवारलाई झन्डै १ करोड ७० लाख रुबल अर्थात् २ करोड ७७ लाख रुपैयाँभन्दा बढी क्षतिपूर्ति दिने प्रतिबद्धता व्यक्त गरेको छ ।