काठमाडौं । काठमाडौं उपत्यकाको वायु प्रदूषण आजपनि घातक अवस्थामा पुगेको छ ।
आईक्यू एअरका अनुसार आज काठमाडौंको वायु गुणस्तर ३ सय ५२ एक्यूआई पुगेको छ । सोमबाारदेखि बुधबार सम्म २५० को हाराहारीमा वायु गुणस्तर मापन हुँदै आएको थियो । आज बिहान नेपालको काठमाडौं विश्वकै प्रदूषित सूचीको दोस्रो स्थानमा छ ।
विगत लामो समयदेखि पानी नपर्दा काठमाडौंको आकाशमा थुप्रिएको धुलो र उपत्यका आसपासका विभिन्न जंगलमा लागेको डढेलोको धुँवाको कारण काठमाडौं उपत्यकामा वायु प्रदूषणको मात्र उच्च भएको विज्ञहरुले बताएका छन् ।
चिकित्कसहरुले अहिले काठमाडौंको वायु मानव स्वास्थ्यको लागि हानिकारक तहमा पुगेको बताएका छन् । स्वास्थ्य मन्त्रालयले बिहीबार साँझ विज्ञप्ति जारी गर्दै नेपालको वायु विश्वकै अत्यधिक अस्वस्थकर सूचीको माथिल्लो स्थानमा रहेको भन्दै सजगता अपनाउन नागरिकलाई आग्रह गरेको छ ।
चिकित्सकहरुले यस्तो अवस्थामा बिहानको समयमा सकेसम्म घर बाहिर ननिस्कन सुझाव दिएका छन् । विगत केही दिनदेखि वायु प्रदूषणका कारण काठमाडौं उपत्यकामा डम्म लागेको बादल फाट्न अझ केही दिन लाग्ने भएको छ ।
यद्यपि शुक्रबारदेखि भने वायुको वेग आजको तुलनामा अधिक हुने सम्भावना रहेकाले क्रमशः सुधार भई आकाश खुल्ने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
प्रतिक्रिया