तेहरान । उत्तरी इरानको एक कोइला खानीमा ग्यास चुहिँदा सात जना कामदारको मृत्यु भएको छ । ज्यान गुमाउनेमध्ये तीन जना अफगानी भएको बताइएको छ । राष्ट्रपति मसूद पेजेश्कियानले घटनाको अनुसन्धान गर्न आदेश दिएको आधिकारिक आइआरएनए समाचार एजेन्सीले समाचारमा बताएको छ ।
राजधानी तेहरानबाट लगभग २७० किलोमिटर उत्तरपश्चिममा रहेको दमघान शहर नजिकै सोमबार दिउँसो यो दुर्घटना भएको बताइएको छ ।
समाचारमा सुरक्षा उपायहरूलाई वेवास्ता गर्दा भयानक दुर्घटना भएको हुनसक्ने उल्लेख गरिएको छ । इरानमा औद्योगिक दुर्घटनाहरूमा प्रत्येक वर्ष लगभग ७०० कामदारको मृत्यु हुने गरेको प्रतिवेदनले देखाएका छन् । गत हप्ता, देशको उत्तरपश्चिममा एउटा फलाम खानी भत्किँदा एक कामदारको मृत्यु भएको थियो ।
सेप्टेम्बरमा पनि पूर्वी इरानको कोइला खानीमा भएको विस्फोटमा दर्जनौं कामदारको मृत्यु भएको थियो ।
प्रतिक्रिया