मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को १८ दफामा संशोधन, थप सुधार गर्नुपर्नेमा जोड

मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को १८ दफामा संशोधन, थप सुधार गर्नुपर्नेमा जोड


ग्लोब नेपाल
189
Shares

काठमाडौं । मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयकमाथि आइतबार सञ्चारकर्मीसंग अन्तक्रिया भयो ।

संसदमा प्रस्तुत विधेयकमा मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ मा १८ दफामा संशोधन गरिएको छ । महिला कानुन र विकास मञ्च (एफडब्लुएलडी) ले आयोजना गरेको उक्त अन्तरक्रिया कार्यक्रममा संशोधित विधेयक पनि अपूर्ण रहेकोले थप सुधार गर्नुपर्नेमा जोड दिइयो ।

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका उपसचिव मीना पौडेल, मानव बेचविखन अनुसन्धान व्यूरोका नायव प्रहरी उपरीक्षक ज्ञानबहादुर विष्ट र महिला कानुन र विकास मञ्च (एफडब्लुएलडी) का कार्यकारी निर्देशक सविन श्रेष्ठले विधेयककोबारेमा चर्चा गर्दै थप सुधार गर्नुपर्नेमा जोड दिए ।

संशोधित विधेयकलाई पूर्ण बनाउन अझै धेरै मेहनत गर्नुपर्ने उनीहरुको भनाई थियो । कार्यक्रममा उपसचिव पौडेलले १८ वटा बुँदामा संशोधन प्रस्ताव गरिएको विधेयकका बारेमा स्पष्ट पारेकी थिइन् । उनले संशोधित विधेयकले धेरै कुरा समेटेको भए पनि अझैं पूर्ण नभएको बताइन् ।

यो विषयमा उच्च तहका जिम्मेवार व्यक्ति चिन्तित नभएकाले प्रस्तावित विधेयक पूर्ण हुन नसकेको उनको भनाइ थियो । विधेयकमा धेरै कुरा समेटिए पनि स्पष्ट हुन केही कुरा बाँकी रहेकाले यसलाई पूर्ण भन्न नसकिएको उनको भनाइ थियो ।

पुनस्र्थापना कोषमा जम्मा हुने रकम र त्यसको खर्चबारे पनि उपसचिव पौडेलले स्पष्ट पारिन् । राज्यकै कोषबाट खर्च गर्नुपर्ने भएकाले पुनस्र्थापना कोषमा आवश्यक रकम अभाव भइरहने उनको भनाई थियो ।
यसैगरी मानव बेचविखन ब्यूरोका नायव प्रहरी उपरिक्षक विष्टले संशोधित विधेयकमा धेरै कुरा समेट्न बाँकी रहेकाले कानुनी तथा अनुसन्धान प्रक्रियासँग सम्बन्धित धेरै चु्नौति रहेको बताए । उनले अनुसन्धान अवधि २५ दिन मात्र हुनु, मानव बेचविखनको परिभाषा संकुचित रहनु र पार्लेमो पोर्टोकलमा भएको ‘श्रम शोषण र यौन शोषणलाई वर्तमान विधेयकले नसमेटेको स्पष्ट पारे ।

मानव तस्करीको अस्पष्ट, अधुरो व्यवस्था, छुट्टै मानव तस्करी नियन्त्रण गर्ने कानुनको अभाव, अप्रयास क्षतिपूर्ति, विदेशमा बारदातमा प्रमाण संकलनमा कठिनाइ रहेको उनको भनाइ थियो । उनले उद्दार तथा पक्राउ गरी स्वदेश फिर्ता ल्याउने प्रभावकारी संयन्त्रको अभाव तथा मानव बेचविखनमा संलग्न विदेशी नागरिकको पहिचान नखुल्ने हुँदा उनीहरुलाई कानुनी दायरामा ल्याउन कठिनाइ हुने बताए ।

ब्यूरो प्रमुख विष्टले विधेयकमा भएको शाब्दिक त्रुटी औंल्याएका थिए । उनले अहिलेसम्म भएका घटनाको तथ्यांक प्रस्तुत गर्दै भिजिट भिषाको चरम दुरुपयोगले, विदेशमा महिला शोषणको शिकार हुने गरेको बताए ।

यसैगरी विधेयकमा छुटेका विषयहरुमाथि चर्चा गर्दै अन्तर्राष्ट्रिय अभिसन्धी मुताविक संशोधन हुन नसकेको एफडब्लुएलडीका कार्यकारी निर्देशक श्रेष्ठले बताए । उनले संशोधनका बुँदाहरु प्रस्तुत गर्दै संशोधित विधेयकमा धेरै राम्रो कुरा समेटिएको तर अझै अपुग भएको उल्लेख गरे ।

उनले विधेयकमा कार्ययोजना र नीति नल्याएको भन्दै पार्लेमो प्रोटकलअनुसार विधेयक नभएको स्पष्ट पारे । संशोधित विधेयक पहिलेभन्दा अग्रगामी भएको तर पूर्ण नभएकोले यसलाई संसदीय समितिले छुटेका विषयहरु समेट्ने अवसर भएको श्रेष्ठले बताए ।