काठमाडौं । एन्टिबायोटिक प्रतिरोधी सङ्क्रमणका कारण सन् २०२२ मा विश्वभर ३० लाख जनाभन्दा धेरै बालबालिकाको ज्यान गएको एक अध्ययनले दाबी गरेको छ ।
विश्व स्वास्थ्य सङ्गठन र विश्व बैंकसहित बहुस्रोतका तथ्याङ्क विश्लेषण गरेर बाल स्वास्थ्यका दुई प्रमुख विज्ञहरूले गरेको अध्ययनानुसार एन्टिबायोटिक प्रतिरोधी सङ्क्रमण वा एन्टिबायोटिकले समेत काम नगर्ने अवस्था आउने समस्या विश्वव्यापी रूपमा बढेको छ । यो समस्याबाट अफ्रिका र दक्षिण पूर्वी एशियाका बालबालिकाहरू सबैभन्दा बढी जोखिममा रहेका प्रतिवेदनलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
एन्टिबायोटिक औषधिले समेत काम नगर्ने गरी विकसित सङ्क्रमणलाई एन्टिमाइक्रोबियल रेसिस्टेस्ट (एएमआर) भनिन्छ । यसलाई अहिले विश्वको सम्पूर्ण जनसङ्ख्याले सामना गरिरहेको सबैभन्दा ठूलो सार्वजनिक स्वास्थ्य चुनौती मानिएको छ ।
प्रतिवेदनमा एएमआरसम्बन्धी सङ्क्रमण सन् २०२१ देखि ३ वर्षको अन्तरालमा १० गुणाले बढेको उल्लेख छ । एन्टिबायोटिक छालाको सङ्क्रमणदेखि निमोनियाजस्ता ब्याक्टेरियल इन्फेक्शनमा प्रयोग हुन्छ । यसलाई कहिलेकाहीँ उपचारभन्दा पहिले रोकथामका लागि पनि दिइन्छ ।
अध्ययनमा संलग्न विज्ञहरूले एन्टिबायोटिकको प्रयोग घटाउनुसँगै खोप, सरसफाइ र पोषण सुधारलगायत सुझाव दिएका छन् ।
प्रतिक्रिया