मकवानपुरगढीमा सवारी दुर्घटना हुँदा दुईजनाको मृत्यु, १४ घाइते

मकवानपुरगढीमा सवारी दुर्घटना हुँदा दुईजनाको मृत्यु, १४ घाइते



भीमफेदी । मकवानपुरमा सवारी दुर्घटनामा हुँदा दुईजनाको मृत्यु भएको छ । १४ जना घाइते भएका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएकी रौतहटकी ५० वर्षीया नीलमदेवी राउतको उपचारको क्रममा आज बिहान हेटौंडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार सर्लाहीकी १३ वर्षीया मानुसी मगरको शव आज बिहान घटनास्थल नजिकैको खोल्सामा फेला परेको छ ।

दुर्घटनामा घाइते भएका १० जनाको हेटौँडा अस्पताल र अन्यको मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ ।

गएराति १ बजे मकवानपुरगढी गाउँपालिका–२ धरमपानीस्थित कान्तिलोकपथ सडकखण्डमा काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको हो ।

बा प्र ०१–००६ ख ७०७२ नम्बरको गाडी सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले बताएको छ ।

गाडीमा चालकसहित १६ जना सवार थिए ।