इष्टरमा युद्धविरामको घोषणा गरेको रुसले रोकेन हमला

इष्टरमा युद्धविरामको घोषणा गरेको रुसले रोकेन हमला



किभ । रुसले इष्टरको अवसरमा युक्रेनमाथि आक्रमण नगर्ने घोषणा गरेको थियो । तर रुसको आक्रमण अझै कम नभएको युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले शनिबार बताएका छन् । धेरै सीमावर्ती क्षेत्रहरूमा रुसको आक्रामक कारबाही जारी रहेको जेलेन्स्कीले बताए ।

रुसको बोलीमा विश्वास गर्न नसकिने उनको भनाइ थियो । ‘कयौँ सीमावर्ती क्षेत्रहरूमा रूसको आक्रामक कारबाही जारी छ । रूसी तोपखानाको गोलाबारी घटेको छैन । त्यसैले रूसले बोल्ने कुनै पनि कुरामा विश्वास गर्न सकिदैँन । मस्कोले कसरी चलखेल गर्छ भनेर हामीलाई राम्ररी थाहा छ । हामी कुनै पनि चीजका लागि तयार छौँ ।’

माइक्रो ब्लगिङ वेबसाइट एक्समा जेलेन्स्कीले लेखेका छन् । रुसको हरेक आक्रमणको उचित जवाफ दिइने पनि उनले बताएका छन् । रुसले पूर्ण र बिना शर्त ३० दिने युद्धविरामको प्रस्ताव अस्वीकार गरेको थियो । ३० घण्टाको इस्टर युद्धविराम वास्तविक विश्वास निर्माण गर्न अपर्याप्त रहेको पनि उनले बताए ।