वीरगञ्जमा ४२ करोड रुपैयाँ बराबरको भन्सार छलीका सामान बरामद

वीरगञ्जमा ४२ करोड रुपैयाँ बराबरको भन्सार छलीका सामान बरामद



पर्सा । वीरगञ्जमा भारतबाट भन्सार छली गरी ल्याइएका सामान बरामद हुने क्रम बढेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण मुख्यालयका गणपति राधेश्याम धिमालले एक वर्षको अवधिमा ४१ करोड ९२ लाख ३१ हजार रुपैयाँ बराबरको अवैध तथा शङ्कास्पद मालसामान बरामद गरेको जानकारी दिए ।

सीमा सुरक्षामा खटिने सशस्त्र प्रहरी बल पर्साले सक्रियता बढाएसँगै अवैध चोरी पैठारी गरेर भित्रिने लत्ताकपडा, इलेक्ट्रोनिक्स सामान, हार्डवेयर, मोटरपार्ट्स, खाद्यान्न पदार्थ र किरानाका सामान बरामद हुने क्रम बढेको उनको भनाइ छ ।

सशस्त्र प्रहरीले वीरगञ्ज भन्सार नाकामा दुई वटा तालिमप्राप्त कुकुर पनि खटाएर जाँच गर्दै आइरहेको छ । सशस्त्र प्रहरी बलले २०८१ वैशाखदेखि २०८२ वैशाख ६ गतेसम्म २८ करोड ११ लाख ६ हजार रुपैयाँ मूल्यका भन्सार छली गरेर भित्र्याइएका सामान वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको जनाएको छ ।

त्यसैगरी यही अवधिमा १३ करोड ८१ लाख २५ हजार दुई सय २० रुपैयाँ मूल्यको बिलबिजक नभएका सामान भने राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको जनाएको छ ।