भारतको जम्मू-कश्मीरमा भएको आक्रमणमा १ नेपालीसहित २७ जनाको मृत्यु

भारतको जम्मू-कश्मीरमा भएको आक्रमणमा १ नेपालीसहित २७ जनाको मृत्यु


ग्लोब नेपाल
378
Shares

जम्मु । भारतको जम्मू कश्मीरको पहलगाममा बन्दुकधारीहरूको आक्रमणबाट एक नेपालीसहित २६ भन्दा बढी पर्यटकको मृत्यु भएको छ।

आक्रमणमा नेपालका सन्दीप न्यौपाने मारिएका हुन् । जम्मु–कश्मीरमा मंगलबार भएको आक्रमण २०१९ को पुलवामा आक्रमणपछि सबैभन्दा ठूलो आतंकवादी आक्रमण हो । पहलगामको बैसरन उपत्यकामा भएको आक्रमणमा यूएईका एक पर्यटक, २ जना स्थानीय र बाँकी भारतकै गुजरात, महाराष्ट्र, कर्नाटक, तमिलनाडु र ओडिशाका नागरिकको ज्यान गएको हो ।

अनतर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार आतंककारीहरूले पर्यटकलाई नाम सोध्दै टाउकोमा गोली हानेको बताइएको छ । आक्रमणको जिम्मेवारी लश्कर–ए–तैयबाले लिएको छ । घटनामा २० जनाभन्दा बढी घाइते भएका छन् । घटनापछि सुरक्षा बलले पहलगामको आक्रमण भएको क्षेत्रलाई घेराबन्दी गरेको छ ।

यसैबीच भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यस ‘क्रूर घटनाको’ निन्दा गर्दै दोषीहरूलाई कडा कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् । उनी विदेश भ्रमण छोट्टाएर आज दिल्ली फर्कदैछन । गृह मन्त्री अमित शाह घटनास्थल तर्फ गएका छन् । साथै, उनले दोषीलाई कडा सजाय दिने चेतावनी दिएका छन् ।

विपक्षी नेता राहुल गान्धीले यो घटनालाई ‘हृदयविदारक’ भन्दै सङ्घीय सरकारले उत्तरदायित्व लिनुपर्ने माग गरेका छन् । सरकारले पछिल्ला वर्षहरूमा कश्मीरलाई पर्यटन केन्द्रको रूपमा प्रवद्र्धन गर्दै आएको छ । सन् २०२४ मा झण्डै ३५ लाख पर्यटकहरूले कश्मीर भ्रमण गरेका थिए । यो भन्दा पहिले सन् २०१९ मा पुलवामामा भएको आक्रमणमा ४० सुरक्षाकर्मीको मृत्यु भएको थियो ।

सन् २००० मा भएको आक्रमणमा ३६ भारतीय नागरिकको ज्यान गएको थियो ।