चट्याङ लागेर ३ को मृत्यु, दुईजना घाइते

चट्याङ लागेर ३ को मृत्यु, दुईजना घाइते


ग्लोब नेपाल
27
Shares

काठमाडौं । गोरखा र कास्कीमा चट्याङ लागेर ३ जनाको मृत्यु भएको छ । चट्याङ लागेर कास्कीमा २ र गोरखामा १ जनाको मृत्यु भएको हो । गोरखामा चट्याङ लागेर राजु खनाल तथा कास्कीमा भरत पुविर राई र महेश राईको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

सहिद लखन गाउँपालिका–१, बक्राङका ४२ वर्षका खनाल आइतबार साँझ अन्दाजी ७:५० बजे घरमा बसिरहेका बेला एक्कासी परेको चट्याङ लागेर गम्भीर घाइते भएका थिए । घाइते खनाललाई प्रदेश अस्पताल गोरखामा उपचारका लागि ल्याएको भए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

त्यस्तै आइतबार साँझ नै पालुङटार नगरपालिका–७ स्थित च्याङलीमा चट्याङ लागेर ५० वर्षकी सुकमायाँ आले, १८ बर्षिया विपना आले घाइते भएका छन् । घाइते दुवैजनाको चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

अन्नपूर्ण गाउँपालिका–११ पोडेस्थित त्रिवेणी ताल पदमार्गमा काम गरिरहेको अवस्थामा आइतबार हावाहुरीसहितको चट्याङ लागेर सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–२ का ४४ वर्षीय भरत पुविर राई र सोही ठाउँका वर्ष १८ का महेश राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं प्रहरीले जनाएको छ ।