काठमाडौं । चीन र फिलिपिन्सबीच विवादित समुद्री क्षेत्र साउथ चाइना सीमा रहेको एउटा बलौटे ढिस्को चिनियाँ तटरक्षकहरूले आफ्नो नियन्त्रणमा लिएका छन् ।
चिनियाँ सरकारी प्रसारक सीसीटीभीले ४ जना सैनिक चिनियाँ झण्डा बोकेर उभिएको तस्वीर सार्वजनिक गर्दै विवादित बलौटे ढिस्को नियन्त्रणमा लिएको जानकारी गराएको हो ।
‘स्यान्डी के’ नाम रहेको झन्डै २ सय वर्गमिटरको विवादित ठाउँ स्प्र्याट्ली आइल्यान्ड्समा पर्छ । साउथ चाइना सीका कैयौं टापुमा चीन र फिलिपिन्स दुवैले आफ्नो दाबी गर्दै आएका छन् । यो क्षेत्रमा दुई देशबीच बारम्बार भइरहने विवाद कहिलेकाहीँ झडप र जहाजहरू जुधाउने हदसम्म पुग्ने गरेको छ ।
अमेरिकी राष्ट्रपतिको कार्यालयले त्यो क्षेत्र चीनले कब्जा गरेको समाचार सत्य भएको र त्यो गम्भीर विषय रहेको बताएको छ । अमेरिकी र फिलिपिनो सेनाबीच वार्षिक रूपमा हुँदै आएको युद्धशैलीको सैन्य अभ्यास चलिरहेका समयमा चीनले समुद्री टापु आफ्नो कब्जामा लिएको जनाएको छ ।
फिलिपिन्सको सेनाले जारी सैन्य अभ्यास राष्ट्रिय रक्षाको पूर्वाभ्यास रहेको र कुनै पनि देश लक्षित नरहेको दाबी गरेको छ । साउथ चाइना सीमा सयौं वर्षदेखि विवाद छ ।
प्रतिक्रिया