भारतद्वारा २६ वटा राफेल लडाकू विमान खरिद गर्न फ्रान्ससँग सम्झौता

भारतद्वारा २६ वटा राफेल लडाकू विमान खरिद गर्न फ्रान्ससँग सम्झौता



काठमाडौं । भारतले आफ्नो जलसेनाका लागि राफेल समुद्री लडाकू विमान खरिद गर्न फ्रान्ससँग सम्झौता गरेको छ । भारतले ६४ हजार कराेड भारु बराबरको २६ वटा लडाकु विमान खरिद गर्न आज फ्रान्ससँग सम्झौता गरेको भारतीय रक्षा मन्त्रालयका एक अधिकारीलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।

यो खरिदलाई यस महिनाको शुरूमा प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको भारतको सुरक्षा मन्त्रिपरिषद्ले अनुमोदन गरेको थियो ।

भारतले आफ्नो सेनालाई आधुनिकीकरण गर्ने, रुसी उपकरणहरूमाथिको निर्भरता घटाउने र पाकिस्तान र चीनसँगको दुई विवादास्पद सीमाहरूमा तैनाथ सेनाहरूलाई आपूर्ति गर्न घरेलु हतियार उत्पादन बढाउने प्रयास गरिरहेका बेला यो सम्झौता भएको खबरमा उल्लेख छ ।

भारतीय जलसेनाले विगत एक दशकमा हिन्द महासागरमा चीनको बढ्दो उपस्थितिको बारेमा चिन्ता व्यक्त गर्दै आएको छ । राफेल–एमलाई विश्वको सबैभन्दा उन्नत नौसेना लडाकू विमानहरूमध्ये एक मानिन्छ ।