मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १७ गैरीगाउँमा सडक भासिँदा जमिनमुनि पसेको गाडी तीन दिनसम्म पनि नभेटिएपछि खोजीका लागि भूगर्भविदलाई बाेलाइएको छ ।
शुक्रबार दिउँसो १ बजे हेटौंडा उपमहानगरपालिका-१७ गैरीगाउँमा रोकिराखेको अवस्थामा ना ४ ख ४८३३ नम्बरको गाडी जमिनमुनि पसेको थियो ।
आइतबार दिउँसोसम्म पनि खोजी गर्दा नभेटिएपछि गाडी खोजी कार्य स्थगित भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएकाे छ ।
गाडी जमिनमुनि पसेको ठाउँमा पानी जमेकोले पानी निकालेर खाेज्दा पनि गाडी नभेटिएकाे प्रहरीले बताएकाे छ ।
हेटौंडा उपमहानगरपालिकाले आइतबार बैठक गरेर अब भूगर्भविदको सहयोग लिने निर्णय गरेको हाे ।
उपमहानगरपालिकाकी प्रमुख मिनाकुमारी लामाका अनुसार सुरक्षा निकायका प्रमुखहरू र प्रमुख जिल्ला अधिकारीसमेतसँग बसेर छलफल गर्दा भूगर्भविदको सहयोग लिने कुरा भएको छ ।
भूगर्भ विभागलाई यसबारे महानगरले पत्र पठाइसकेको उनले बताइन् । अब भूगर्भ विभागले प्राविधिक औजारसमेत ल्याएर अध्ययन गर्ने उनको भनाइ छ ।
अहिले उपमहानगरपालिकाले गाडी भासिएको ठाउँमा ‘प्रवेश निषेध, जमिन भासिएर खतरा भएको छ’ लेखिएको एउटा साइनबोर्ड लगाएको छ ।
गाडी भासिएको करिब ५ सेकेन्डमै हराएको गाडी मालिक तथा गाडीका चालक हरेराम राईले जानकारी दिए । गाडी भासिएको नजिकै माछापालन गरिएको ५ वटा पोखरी र बोरिङ समेत रहेको छ । बोरिङका कारण जमिन भासिएको हुनसक्ने अनुमान लगाइएको छ ।
प्रतिक्रिया