भारतले भन्यो : ‘पहलगाम घटनाको जवाफ दिन पाकिस्तानमाथि आक्रमण’

भारतले भन्यो : ‘पहलगाम घटनाको जवाफ दिन पाकिस्तानमाथि आक्रमण’



काठमाडौं । भारतले जम्मू–कश्मीरकाे पहलगाममा भएकाे घटनाको जवाफ दिन पाकिस्तानमाथि आक्रमण गरेको बताएको छ ।

आज बिहानै पाकिस्तानका नौ ठाउँमा मिसाइल आक्रमण गरेपछिको पहिलो पत्रकार सम्मेलनमा भारतका विदेश सचिव विक्रम मिस्रीले सीमापार आक्रमणको जवाफ दिने र प्रतिकार गर्ने आफ्नो अधिकारको प्रयोग गर्दै पाकिस्तान प्रशासित कश्मीर र पाकिस्तानमा ‘आतङ्कवादी पूर्वाधार’ हरूमा आक्रमण गरेको बताएको बीबीसी हिन्दीले जनाएको छ ।

उनले २६ जनाको ज्यान जाने गरी भएको पहलगाम आक्रमण निकै बर्बर भएको पनि बताए ।

पत्रकार सम्मेलनमा विदेश सचिव मिस्रीले पाकिस्तानले ‘आतङ्कवादी पूर्वाधार’ नष्ट गर्न कुनै कदम नचालेको आरोप लगाए । उनले पहलगाम आक्रमणपछि संयुक्त राष्ट्रसङ्घले समेत यस सम्बन्धमा विज्ञप्ति निकालेको भन्दै भारतको कारबाहीलाई त्यसै सन्दर्भमा हेर्नुपर्ने बताए ।

विदेश सचिवले पहलगाम आक्रमणमा ‘द रेजिस्टेन्स फ्रन्ट’ (टीआरएफ) संलग्न रहेको बताउँदै त्यो भारतले आतङ्कवादी सङ्गठन मान्ने पाकिस्तानमा आधारित समूह लश्कर–ए–तैयबाको एउटा मोर्चा रहेको उल्लेख गरे ।

भारतको रक्षा मन्त्रालयका अनुसार पाकिस्तानमाथिको कारबाहीलाई ‘अपरेशन सिन्दूर’ नाम दिइएको छ । मन्त्रालयका अनुसार यो कारबाही पहलगाम घटनाका जिम्मेवारहरूलाई जवाफदेह बनाउने प्रतिबद्धताको हिस्सा हो ।

यसैबीच पाकिस्तानी सेनाले भारतीय आक्रमणमा परेर आफ्नो देशमा कम्तीमा २६ जनाको ज्यान जानुका साथै ४६ जना घाइते भएका जनाएको छ । यस्तै सीमापार बमबारीका क्रममा भारतमा ज्यान गुमाउने सर्वसाधारणको सङ्ख्या १० पुगेको एक शीर्ष सैन्य अधिकारीले बताएका छन् ।