काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले पपुवा न्यु गिनी (पीएनजी) मा पोलियोको प्रकोप फैलिएको घोषणा गरेको छ । डब्ल्यूएचओले पपुवा न्यु गिनीमा पोलियोको प्रकोप फैलिएको घोषणा गर्दै तत्काल खोप अभियानका लागि आह्वान गरेको बीबीसीले जनाएको छ ।
देशको उत्तर पूर्वमा रहेको तटीय शहर लाएमा नियमित स्क्रिनिङका क्रममा दुई जना स्वस्थ बच्चाहरूमा अत्यधिक सङ्क्रामक भाइरसको नमूनाहरू फेला परेका खबरमा उल्लेख छ ।
पपुवा न्यु गिनीका आधाभन्दा कम जनसङ्ख्यालाई सम्भावित घातक रोगविरुद्ध खोप लगाइएको छ र लगभग नष्ट हुने अवस्थामा छ तर अहिले विश्वका केही भागहरूमा पुनः पोलियो देखा परेको छ ।
पपुवा न्यु गिनीका लागि विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधि सेभिल हुसेनोभाले यो रोग देशबाहिर फैलिन सक्ने चेतावनी दिँदै तत्काल काम गर्नुपर्ने बताएका छन् ।
पोलियो भाइरसबाट लाग्ने सङ्क्रामक रोग हो । पोलियोको कुनै उपचार छैन, यद्यपि पपुवा न्यु गिनीमा अहिले देखिएका दुई जनासहित सङ्क्रमण भएका धेरैजसो मानिसहरूमा कुनै लक्षणहरू छैनन् ।
पोलियो मुख्य रूपमा व्यक्ति–व्यक्तिबीचको सम्पर्कबाट फैलिन्छ । सङ्क्रमित व्यक्तिले खोक्दा र हाच्छिउँ गर्दा उसको दिसा वा थुकका छिटाहरूसँगको सम्पर्कबाट यो रोग फैलिन्छ । यसले प्रायः पाँच वर्षमुनिका बालबालिकालाई असर गर्छ ।
प्रतिक्रिया