काठमाडौं । शुक्रबार दिउँसो चलेको हावाहुरीका कारण कपिलवस्तु र नवलपरासीमा तीन जनाको मृत्यु भएको छ ।
हावाहुरीले रूख र प्रतीक्षालय ढल्दा नवलपरासीको सुनवलमा दुई जना र कपिलवस्तुमा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
नवलपरासी सुनवल नगरपालिका वडा नम्बर ७ चारपाला बस्ने अन्दाजी ३० वर्षीया मिरा बयम्बु र ४० वर्षीय दुर्गा बहादुर पुनको मृत्यु भएको हो ।
दिउँसो सवा चार बजेतिर भएको उक्त घटनामा परी स्थानीय ४० वर्षीया नरमति परियार, ५१ वर्षीय दुर्गेश्वरा खाम्चा मगर र २२ वर्षीय अनिल थापा घाइते भएका छन् ।
यस्तै, कपिलवस्तुको कपिलवस्तु नगरपालिका वडा नम्बर ८ मैनिहवामा आँपको रूख ढलेर च्यापिँदा एक बालिकाको मृत्यु भएको छ । हावाहुरीका कारण आँपको रूख ढलेर च्यापिँदा स्थानीय १४ वर्षीय सुखना केवटको मृत्यु भएको हो ।
प्रतिक्रिया