उत्कृष्ट ढुकुर जोडी खोज्दै सुन्दरहरैचा नगरपालिका

उत्कृष्ट ढुकुर जोडी खोज्दै सुन्दरहरैचा नगरपालिका


ग्लोब नेपाल
621
Shares

विराटनगर । मोरङ जिल्लाको सुन्दरहरैँचा नगरपालिकाले उत्कृष्ट दम्पती (ढुकुर जोडी) छनोट गर्ने कार्यक्रमअन्तर्गत इच्छुक दम्पतीहरूबाट निवेदन आह्वान गरेको छ।

नगरपालिकाभित्र सामाजिक समस्या न्यूनीकरण गर्ने उद्देश्यले स्थानीय तहले ‘उत्कृष्ट दम्पती’ कार्यक्रम सञ्चालन गर्न लागेको प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

पछिल्लो समय घरेलु हिंसा, इन्कार आम्दानी, खाना लाउन नपाउनु, विवाह विघटन लगायतका समस्या बढ्दै गएको उल्लेख गर्दै यस्तो कार्यक्रममार्फत सामाजिक सद्भाव र उदाहरणीय जीवनशैलीलाई प्रवर्द्धन गर्ने लक्ष्य लिएको जनाइएको छ।

कार्यक्रममा सहभागीले १२ वटा सर्त पूरा गर्नुपर्ने छ । ती १२ वटा सर्त यस्ता छन्–

न्यूनतम योग्यता (शर्तहरू):
१. कम्तीमा १० वर्षअघि विवाह भएको हुनुपर्ने।
२. श्रीमान्–श्रीमती दुवैले नेपाली नागरिकता प्राप्त गरेको हुनुपर्ने।
३. विवाह दर्ता गरेको हुनुपर्ने।
४. नगरपालिका क्षेत्रभित्र बसोबास गरिरहेको हुनुपर्ने।
५. छोराछोरीको जन्मदर्ता हुनुपर्ने।
६. नागरिकता बनाउँदा उमेर पुगेको छोराछोरीको भए नागरिकता प्राप्त गरेको हुनुपर्ने।
७. विद्यालय जाने उमेर पूरा भएका छोराछोरी भए विद्यालयमा भर्ना गरेको हुनुपर्ने ।
८. निरन्तर रुपमा संयुक्त परिवारमा (बुवा वा आमा–सासु वा ससुरासँग) बसेको हुनुपर्ने । अलग भिन्न नभएको ।
९. बुवाआमा वा सासुससुरालाई राम्रोसँग हेरचाह, पालनपोषण, मायाममता गरेको हुनुपर्ने ।
१०. हालका मितिसम्म अदालत, प्रहरी चौकी, न्यायिक समितिलगायतका निकायहरुमा वा समाजमा श्रीमान् श्रीमतिको झगडा परी निवेदन दर्ता नगराएको हुनुपर्ने ।
११. निरन्तर नेपालमै बसोबास गरेको हुनुपर्ने । विवाह भएको १० वर्षमा वैदेशिक रोजगारीमा २ वर्षभन्दा बढी नबसेको ।
१२. माथि उल्लेखित सर्तहरु पूरा हुने कागजात फारमसहित पेस गर्नुपर्ने ।