काठमाडौं । इन्डोनेसियाको सुमात्रा टापु नजिकै ६ दशमलव ३ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भीय सर्वेक्षण (यूएसजीएस) ले जनाएको छ । भूकम्पबाट एक सयभन्दा धेरै घर क्षतिग्रस्त भएका छन् । अरू मानवीय हताहतीबारे अहिलेसम्म जानकारी आउन सकेको छैन ।
भूकम्प ६८ किलोमिटरको गहिराइमा बेङ्कुलु प्रान्त नजिकै अफशोरमा गएको हो । त्यहाँको मौसम विज्ञान विभागले सुनामीको सम्भावना नभएको जनाएको छ ।
भूकम्पले प्रान्तीय राजधानी बेङ्कुलु शहरमा एक सयभन्दा बढी घर र कम्तीमा छ वटा सार्वजनिक सुविधा क्षतिग्रस्त भएको राष्ट्रिय विपद् न्यूनीकरणका प्रवक्ता अब्दुल मुहारीले जानकारी दिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
इन्डोनेसियामा बारम्बार भूकम्पको अनुभव हुन्छ । सन् २०१८ मा सुलावेसीमा ७ दशमलव ५ म्याग्निच्युडको भूकम्प र त्यसपछिको सुनामीले दुई हजार दुई सयभन्दा धेरैको ज्यान गएको थियो । सन् २००४ मा इन्डोनेसियाको आचे प्रान्तमा ९ दशमलव १ म्याग्निच्युडको भूकम्प जाँदा एक लाख ७० हजारभन्दा धेरैले ज्यान गुमाएका थिए ।
प्रतिक्रिया