भोजपुर । मकैबालीमा अमेरिकन फौजी किराको समस्या देखिने क्रम शुरू भएको छ । मकैखेती हुने तराई र पहाडका धेरैजसो जिल्लामा फौजी किराले सताउने गरेको छ । यसपालि पनि फाट्टफुट्ट देखिने क्रम शुरू भएको छ ।
भोजपुरमा वैशाख अन्तिम हप्तादेखि नै अमेरिकन फौजी किराको समस्या देखिएको छ । दुई हप्तायता मकैबालीमा क्षति पुर्याउन थालेको र आफूहरू चिन्तित भएको किसान धनबहादुर थापाले बताए ।
भोजपुरसहित अहिले मकै खेती भइरहेका अरू क्षेत्रमा पनि यो किराको जोखिम उच्च छ । अमेरिकन फौजी किरा मकैको गुबोभित्र पसेर गुबो नै खाइदिने, पात खाने र पहेँलो भएर मर्ने समस्या रहेको किसानले गुनासो गरेका छन् ।
मुख्य खाद्यान्नका रूपमा किसानले लगाउने गरेको मकैलाई किराले धेरै नाश गरेमा उत्पादन नै घट्न सक्छ ।
कृषि वैज्ञानिक घनश्याम भण्डारीका अनुसार नेपालमा सताउँदै आएको अमेरिकन फौजी किराले ८० देखि शतप्रतिशतसम्म उत्पादन नोक्सान गर्न सक्छ ।
मकै उम्रिएर तीन, चार पात भएपछि अर्थात् छरेको ८/१० दिनभित्रै यसले आक्रमण गर्न शुरू गर्छ । त्यसैले किसानले शुरूबाटै मकैको बोटमा अनुगमन गर्ने र समस्या देखिए तत्कालै कृषि प्राविधिकसँग सल्लाह लिन उनको आग्रह छ ।
प्रतिक्रिया