जनवरीयता अमेरिकाले डिपोर्ट गर्‍यो हजारभन्दा धेरै भारतीय

जनवरीयता अमेरिकाले डिपोर्ट गर्‍यो हजारभन्दा धेरै भारतीय



नयाँ दिल्ली । भारतीय विदेश मन्त्रालयका अनुसार जनवरीयता अमेरिकाले एक हजारभन्दा धेरै भारतीयलाई स्वदेश फिर्ता पठाएको छ ।

मन्त्रालयका प्रवक्ता रणधीर जयसवालका अनुसार यसरी डिपोर्ट भएकामध्ये ६२ प्रतिशत व्यवसायीक उडानमा आएका थिए । यद्यपि उनीहरूको थप विवरण दिइएको छैन ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दोहोर्‍याएर ह्वाइट हाउस छिरेपछि कागजपत्रविहीन आप्रवासीलाई डिपोर्ट गर्ने अभियान चलाइरहेका छन् ।

यस्तो पृष्ठभूमिका जयसवालले आप्रवासीको मामिलामा भारत र अमेरिकाबिच निकट सहकार्य रहेको दाबी गरे । यसरी फिर्ता पठाएका नागरिकलाई लिनुअघि भारतले उनीहरूको नागरिकता प्रमाणित गर्ने गरेको पनि उनले बताए ।

अमेरिकाले अहिलेसम्म आफ्नो देशमा गैरकानूनी रूपमा बस्दै आएका १८ हजार भारतीय नागरिकको पहिचान गरेको छ । यो महिनाको सुरुमा भारतस्थित अमेरिकी दूतावासले भिसामा तोकिएको म्याद सकिएपछि पनि अमेरिकामा बस्दा वा गैर कानुनी रूपमा अमेरिका छिरेकाहरूलाई डिपोर्टमा परिने वा अमेरिका प्रवेशमा स्थायी रोक लाग्न सक्ने चेतावनी दिएको थियो ।