मनसुन केही दिन काेशी प्रदेशमै रहने

मनसुन केही दिन काेशी प्रदेशमै रहने



काठमाडौं । नेपाल आइपुग्ने सरदर मितिभन्दा १५ दिनअघि नै देशको कोशी प्रदेशमा आइपुगेको मनसुन अब केही दिन अघि नबढ्ने देखिएको छ ।

आउँदो ३ दिनसम्म मनसुन अघि बढ्ने सम्भावना कम देखिएको मौसम पूर्वानुमान ममहाशाखाका मौसमविद् रोजन लामिछानेले जानकारी दिए । उनका अनुसार प्रभाव पनि घटेर मनसुन कोशी प्रदेशमै स्थिर रहने देखिन्छ ।

मनसुन भित्रिएकै दिन कोशी प्रदेशमा ठूलो पानी पर्दा सडक, जलविद्युत‍्लगायतका संरचनामा क्षति पुर्‍याएको थियो ।

जल तथा मौसम विज्ञान विभागका बाढीविद् विनोद पराजुलीले पूर्वी क्षेत्रमा मनसुन भित्रिएकै दिन २०० मिलिमिटरभन्दा बढी पानी परेको जानकारी दिए । वर्षाका कारण नदीमा पानीको सतह बढ्दा बाढी आएकाले केही क्षेत्र डुबानमा परेको उनले बताए ।

अहिले सोलुखुम्बु र दोलखा जिल्लाका केही ठाउँबाहेक काठमाडौंबाट पूर्वतर्फ खासै पानी परेको छैन । गण्डकीको कास्की, तनहुँ, पर्वत, म्याग्दीलगायतका जिल्लाका केही ठाउँमा सामान्य पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज राति पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत देशको पहाडी भागका थोरै ठाउँ र बाँकी भागका १/२ ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् रोजन लामिछानेले बताए ।