मानवीय सहायता लिन पुगेका प्यालेस्टिनी नागरिकमाथि इजरायली सेनाको आक्रमण

मानवीय सहायता लिन पुगेका प्यालेस्टिनी नागरिकमाथि इजरायली सेनाको आक्रमण

घटना छानबिन हुनुपर्छ: महासचिव गुटेरेस



गाजा क्षेत्रमा मानवीय सहायता लिन पुगेका प्यालेस्टिनी नागरिकमाथि इजरायली सेनाले आक्रमण गरेको छ ।

सहायता वितरण स्थलनजिक भएको यो घटनापछि संयुक्त राष्ट्रसङ्घले स्वतन्त्र छानबिनको माग गरेको छ । गाजाको दक्षिणी भागमा रहेको त्यही सहायता केन्द्रमा इजरायली सेनाले दोस्रो दिन गोलाबारी गरेको हो ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार इजरायली सेनाले प्यालेस्टिनी नागरिकमाथि कुनै चेतावनी नदिइ सीधै गोली चलाएको आरोप छ । यो प्रकारको आक्रमणको अन्तर्राष्ट्रिय सहायता संस्थाहरूले निन्दा गर्दै आएका छन् । सहायता वितरण स्थल वरिपरि भएको हिंसात्मक घटनालाई लिएर अन्तर्राष्ट्रिय क्षेत्रमा समेत चासो बढेको छ ।

यसैबीच संयुक्त राष्ट्र संघका महासचिव गुटेरेसले एक विज्ञप्ति जारी गर्दै खाना लिन आएका प्यालेस्टिनीमाथि भएको गोलीवारीको छानबिन गर्न माग गरेका हुन्  । प्रत्यक्षदर्शीहरूले इजरायल र अमेरिकाको समर्थनमा गाजा मानवीय फाउन्डेसनद्वारा सञ्चालित सहायता वितरण केन्द्रमा उनीहरूमाथि गोली चलाइएको थियो ।

रेडक्रसले सो घटनामा १७९ जनालाई गोली लागेको र २१ जनाको मृत्यु भएको उल्लेख गरेको छ । साथै, हमासद्वारा सञ्चालित नागरिक रक्षा एजेन्सीले यी मृत्युको संख्या ३१ पुगेको बताएको छ ।