काठमाडौं । संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार एजेन्सीका प्रमुख भोल्कर टर्कले गाजामा सर्वसाधारणमाथि आक्रमण गर्नु युद्ध अपराध भएको बताएका छन् ।
उनले नागरिकहरूमाथिको आक्रमणलाई युद्ध अपराध भन्दै गाजामा सहायता वितरण केन्द्र नजिकै भएका पछिल्ला हत्याहरूको स्वतन्त्र अनुसन्धान हुनुपर्ने बताएको बीबीसीले जनाएको छ ।
प्रमुख टर्कले अमेरिका–इजरायल समर्थित खाद्य वितरण केन्द्र नजिकै लगातार तीन दिनदेखि मानिसहरू मारिएका र यसका लागि जिम्मेवार व्यक्तिहरूलाई जवाफदेही बनाउनुपर्नेमा जोड दिए
। उनले यदि राहत सामग्रीलाई जानाजानी कुनै पनि तरिकाले पुग्नबाट रोकिएको छ भने यो पनि युद्ध अपराध हुन सक्ने बताउनुभएको खबरमा उल्लेख छ ।
दक्षिणी शहर रफाहको सहायता वितरण केन्द्र नजिकै सर्वसाधारणलाई लक्षित गरी आज इजरायलले गरेको गोलीबारीमा कम्तीमा २७ जना प्यालेस्टिनीको ज्यान गएको छ । यस्तै आक्रमणमा अन्य ९० जना घाइते भएका छन् ।
आइतवार पनि यस्तै घटना भएको थियो । प्यालेस्टिनीहरू सहायता लिन गइरहेको बेला यही ठाउँमा भएको आक्रमणमा ३१ जनाको ज्यान गएको गाजाको नागरिक रक्षा एजेन्सीले बताएको थियो ।


प्रतिक्रिया