बेंगलुरुमा भएको भागदौड घटनामा आरसीबीका कर्मचारीसहित ३ जना पक्राउ

बेंगलुरुमा भएको भागदौड घटनामा आरसीबीका कर्मचारीसहित ३ जना पक्राउ



काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट २०२५ को विजेता रोयल च्यालेन्जर्स बेंगलोर (आरसीबी) को उत्सवका क्रममा भागदौड भएको घटनामा संलग्न रहेको आरोपमा तीन जना पक्राउ परेका छन् ।

आरसीबी व्यवस्थापन टोलीका निखिल सोसले तथा डीएनए इन्टरटेनमेन्ट नेटवर्कका कर्मचारी किरण कुमार र सुनिल म्याथ्युलाई बेंगलोर प्रहरीले पक्राउ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यस प्रकरणमा अझै धेरै पक्राउ पर्ने एक प्रहरी अधिकारीलाई उद्धृत गर्दै खबरमा उल्लेख छ । पक्राउ परेकाहरूमाथि निःशुल्क पासको घोषणा गरेर भीड जम्मा गरेको आरोप छ ।

आरसीबीले १८ वर्षपछि पहिलो पटक आईपीएल जितेको खुशीमा भएको उत्सवका क्रममा चिन्नास्वामी रङ्गशालाबाहिर भएको भागदौडमा ११ जनाको ज्यान गएको थियो । यस्तै भागदौड घटनामा अन्य ५६ जना घाइते भएका थिए ।