काठमाडौं । अमेरिकासँगको व्यापार युद्ध तीव्र गतिमा बढ्दै गएमा जर्मनीले अझै दुई वर्ष आर्थिक मन्दीको सामना गर्नुपर्ने त्यहाँको केन्द्रीय बैंकले जनाएको छ ।
यदि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कर जुलाईदेखि पूर्णरूपमा लागू हुने हो र युरोपेली सङ्घ (ईयू) ले प्रतिकार गर्ने हो भने जर्मनीको उत्पादन यस वर्ष शून्य दशमलव पाँच प्रतिशत र सन् २०२६ मा शून्य दशमलव दुई प्रतिशतले घट्ने बुन्डेस बैंकले प्रक्षेपण गरेको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।
अमेरिकी कर नीतिका कारण जर्मनीको निर्यातमा उल्लेखनीय गिरावट आएको र लगानीमा ठूलो अनिश्चितता रहेको बैंकले जनाएको छ । केन्द्रीय बैंकका अनुसार जर्मनीले सन् २०२७ मा एक प्रतिशतको पुनरुत्थानसहित आर्थिक वृद्धिको मार्ग समात्ने छ ।
रुसले युक्रेनमाथि आक्रमण गरेपछि उत्पादनमा आएको मन्दी र बढ्दो ऊर्जा मूल्यका कारण युरो क्षेत्रको परम्परागत वृद्धि यन्त्र विगत दुई वर्षदेखि सङ्कुचित भइसकेको छ तर यस वर्षदेखि सामान्य सुधारको आशा उच्च रहेका भए पनि यसलाई अमेरिकी कर नीतिले प्रभाव पार्ने देखिएको खबरमा उल्लेख छ ।
ट्रम्पले अप्रिलको शुरूमा आफ्नो ‘लिबरेशन डे’ करको अनावरण गर्दै अमेरिकासँग व्यापार गर्ने सामानहरूमा भारी अधिशेषमा २० प्रतिशत करको साथ युरोपेली सङ्घलाई प्रहार गर्ने धम्की दिएका थिए ।
उनले सम्झौताको प्रयास गर्ने अनुमति दिँदै जुलाईसम्मका लागि ती उच्च दरहरू रोक्ने निर्णय गरेका छन् । भर्खरै मात्र ट्रम्पले ईयूलाई ५० प्रतिशत कर दर थोपर्ने बताएका थिए ।
ईयू समूहले अझै पनि केही विशिष्ट क्षेत्रहरूमा उच्च करहरूबाहेक अमेरिकामा हुने यसको सबै निर्यातमा ‘आधारभूत’ अर्थात् १० प्रतिशत कर दरको सामना गरिरहेको छ ।
सन् २०२४ मा अमेरिका जर्मनीको सबैभन्दा ठूलो व्यापारिक साझेदार भएको र यसले ठूलो परिमाणमा कार, औषधि र मेशिनरी प्राप्त गरेको थियो ।
जर्मनीको सरकार र धेरै आर्थिक संस्थानहरूले ट्रम्पको व्यापार युद्धका कारण उत्पन्न अनिश्चितताको हवाला दिँदै यस वर्षका लागि आफ्नो वृद्धि पूर्वानुमानलाई शून्यमा झारेका छन् ।
प्रतिक्रिया