बस्तीलाई डुवानबाट जोगाउन बाँकेमा खोलालाई डाइभर्सन

बस्तीलाई डुवानबाट जोगाउन बाँकेमा खोलालाई डाइभर्सन



बाँके । राप्ती सोनारी गाउँपालिका–९ मा हुँदै आएको डुवान र कटानबाट बस्ती जोगाउन लागि भत्ताखोलालाई तटबन्धन गरिएको छ ।

गुरुवागाउँ हुँदै ढकेरी बजारसम्मको बस्तीमा हरेक वर्ष डुवान र कटान गर्दै आएको भत्ताखोलाको बाढीलाई नियन्त्रण गर्ने दीर्घकालीन योजना अन्तरगत बस्ती भन्दा पर जङ्गल क्षेत्रबाटै खोलालाई तटबन्धन गरिएको राप्ती सोनारी गाउँपालिका–९ का वडाध्यक्ष सोहनलाल थारुले जानकारी दिए ।

हरेक वर्ष वर्षायाममा ठूलो पानी पर्नासाथ भत्ताखोलामा आउने बाढीले वडाका गाउँबस्तीमा डुवान तथा कटान गर्ने समस्यालाई समाधान गर्न खोलालाईनै तटबन्धन गर्न सफल भएको वडाध्यक्ष थारुको भनाइ छ ।

अब वर्षायाममा भत्ताखोलाको बाढीले गाउँबस्ती डुवानमा पर्ने समस्या हटेको छ । उहाँका अनुसार लुम्बिनी प्रदेश सरकारको ५५ लाख रुपैयाँ बजेटमा गुरुवागाउँ नजिकै रहेको आँपखोली सामुदायिक वनमा रहेको चुरे पहाडलाई कटान गरी भत्ता खोलालाई वनक्षेत्रबाटै गरी बसन्ता खोलामा मिलाइएको छ ।

जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बाँकेले ठेक्कामार्फत तटबन्धन गरिरहेको छ । अब तटबन्धनमा तारजाली र ढुङ्गा विछ्याउने काम मात्रै बाँकी रहेको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बाँकेका प्रमुख आशिष विकले जानकारी दिए ।