युक्रेनको खार्किभमा रुसी आक्रमण: तीन जनाको मृत्यु, ६० घाइते

युक्रेनको खार्किभमा रुसी आक्रमण: तीन जनाको मृत्यु, ६० घाइते



काठमाडौं । रुसले युक्रेनको उत्तरपूर्वी सहर खार्किभमा बुधबार बिहान गरेको हवाई आक्रमणमा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने ६० जना घाइते भएका छन् ।

घाइतेहरूमा बालबालिका पनि परेका छन् । युद्ध सुरु भएको तीन वर्ष बितिसक्दा पनि रुसले दैनिक रूपमा आक्रमण तीव्र बनाउँदै गएको छ ।

उसले युद्ध रोक्न युक्रेनसँग कठोर सर्तहरू अघि सारेको छ, जसलाई युक्रेनले अस्वीकार गर्दै आएको छ ।

खार्किभ सहर, जुन रुसको सिमानाबाट झन्डै ३० किलोमिटर टाढा छ, बारम्बार आक्रमणको केन्द्र बन्दै आएको छ ।

रातभर १७ पटक आक्रमण

खार्किभका नगर प्रमुख इगोर तेरेखोभले जानकारी गराउँदै भने, “यस रात दुई वटा क्षेत्रमा १७ पटक आक्रमण भएको छ ।”

प्रान्तीय प्रमुख ओलेग सिनेगुबोभले तीन जनाको मृत्यु भएको पुष्टि गरे । घटनास्थलमा रहेका पत्रकारहरूले जलिरहेका सवारी साधन, क्षतिग्रस्त भवनहरू र बाटोभरि छरिएका टुक्रा देखेका छन् ।

स्थानीय बासिन्दा ओलेना खोरुजेभाले आफ्ना दुई सन्तानसहित झ्यालबाट टाढा भागेर भित्ताको छेउमा लुकिएको बताए । ‘सानो छोराले जमिनमा लम्पसार परेर टाउको छोपेको थियो, म उसलाई ढाकेर बसेको थिएँ’ उनले भने ।