वीरगञ्जमा राेकिराखेकाे ट्रकमा माेटरसाइकल ठाेक्किँदा दुई जनाकाे ज्यान गयाे

वीरगञ्जमा राेकिराखेकाे ट्रकमा माेटरसाइकल ठाेक्किँदा दुई जनाकाे ज्यान गयाे



पर्सा । पर्साको वीरगञ्ज महानगरपालिका–२२ ड्राइपोर्ट सडकको सीताराम चोकमा भएको दुर्घटनामा दुई जनाको ज्यान गएको छ । दुर्घटनामा अर्का एक जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक किशोर लम्सालका अनुसार सिर्सियाबाट ड्राइपोर्टका लागि छुटेको बाग्मती प्रदेश ०३–००४ प ८६१२ नम्बरको मोटरसाइकल बिग्रिएर रोकिराखेको एचआर–५५ के ३९७१ नम्बरको ट्रकको पछाडि ठोक्किएको थियो ।

आज बिहान भएको दुर्घटनामा मोटरसाइकलमा सवार तीन जनामध्ये दुई जनाको उपचारका क्रममा ज्यान गएको र एक जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

ज्यान गुमाउनेहरूमा पर्साको छिपहरमाई गाउँपालिका–३ झलमैया टोलका २३ वर्षीय रामाकान्त यादव र विजय यादव रहेका छन् ।

दुर्घटनामा घाइते भएका झलमैया टोलकै २२ वर्षीय विजयकुमार यादवको उपचार भइरहेको प्रहरी नायब उपरीक्षक लम्सालले जानकारी दिए ।