इजरायल र इरानलाई संयम अपनाउन विश्व नेताहरूको आग्रह

इजरायल र इरानलाई संयम अपनाउन विश्व नेताहरूको आग्रह



काठमाडौं । इजरायलले इरानमा आणविक केन्द्र र सैन्य ठाउँहरूमा आक्रमण गरी आणविक वैज्ञानिकहरू र सशस्त्र बलका प्रमुखसहित वरिष्ठ व्यक्तित्वहरूको हत्या गरेपछि विश्व नेताहरूले संयम अपनाउन आग्रह गरेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फक्स न्युजलाई इजरायलले इरानमाथि आक्रमण गर्नेभन्दा पहिले नै आफूलाई जानकारी भएको बताएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ । ट्रम्पले इरानले बदला लिएमा अमेरिका आफू र इजरायलको रक्षा गर्न तयार रहेको पनि बताएको खबरमा उल्लेख छ ।

यस्तै संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले दुवै पक्षलाई अधिकतम संयम देखाउन, कुनै पनि हालतमा गहिरो द्वन्द्वमा नडुब्न आग्रह गरेको उनका प्रवक्ताले बताए ।

यस्तै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले दुवै देशलाई क्षेत्रीय शान्ति र स्थिरतालाई बढावा दिने कार्यहरू गर्न तथा तनावलाई थप बढ्न नदिने आह्वान गरेका छन् ।

यस्तै फ्रान्सका विदेशमन्त्री जीन–नोएल ब्यारोटले दुवै देशलाई कुनै पनि तनावबाट जोगिन आग्रह गरेका छन् ।

यस्तै कतारले इरानमाथि भएको इजरायली आक्रमणको कडा निन्दा र भर्त्सना व्यक्त गरेको छ । कतारको विदेश मन्त्रालयले दुई देशबीचको तनावले क्षेत्रीय सुरक्षा र स्थिरतालाई धम्की दिने तथा तनाव कम गर्ने र कूटनीतिक समाधानमा पुग्ने प्रयासहरूमा बाधा पुर्‍याउने बताएको छ । यस्तै बेलायती प्रधानमन्त्रीले तनाव तुरुन्त घटाउन दुवै देशलाई आग्रह गरेका छन् ।

यसैबीच इरानको बदलाको डरले इजरायलीहरूले खाना र पानीको भण्डारण गर्न थालेका बीबीसीले जनाएको छ । जेरुसेलमका सुपरमार्केटहरूमा सामानहरू द्रुत गतिमा सकिरहेका छन् । मानिसहरूले सबैभन्दा धेरै खाना र पानीको भण्डार गरिरहेका छन् । इजरायली सेनाले इरानले एक सयभन्दा धेरै ड्रोन प्रहार गरेको बताएको छ ।