भारतको दिल्लीमा तापक्रम ४० डिग्री, ‘लू’ को रेड अलर्ट

भारतको दिल्लीमा तापक्रम ४० डिग्री, ‘लू’ को रेड अलर्ट


ग्लोब नेपाल
54
Shares

भारतको राजधानी दिल्लीमा पछिल्लो केही दिनदेखि प्रचण्ड गर्मीले मानिसहरुको जनजीवन प्रभावित भएको छ ।

पछिल्लो केही दिनदेखि दिल्लीमा अधिकतम तापक्रम ४० डिग्री पुगे पनि लू चल्दा मानिसहरुलाई हिँडडुल गर्न समेत समस्या भइरहेको हो । आपदा प्रवन्धन प्राधिकरणले पछिल्लो केही दिनदेखि सर्वसाधारणको मोबाईलमा सन्देश पठाएर भारतीय मौसम विभागले पूरै दिल्लीमा “लू” को रेड अलर्ट जारी गरेकाले आफूलाई हाइड्रेट राख्न, चिसो राख्न र घामबाट बच्न परामर्श जारी गरिरहेको छ ।

विशेष गरी फिल्डको काम गर्ने मानिसहरु गर्मीबाट बढी प्रभावित भएका छन् भने बिहान र बेलुका कार्यालय जाने सर्वसाधारणले समेत समस्या झेलिरहेका छन् । तापमान ४०–४२ डिग्री सेल्सियस पुगेको भएपनि कतिपयले भने तापमान ५० डिग्री सेल्सियस नाघेको गर्मी अनुभव गरिरहेका छन् । कतिपय दिल्लीवासीले पंखा र कुलरले कामै नगरेको अनुभव सुनाएका छन् ।

गर्मीका कारण मानिसहरु बाहिर निस्कनबाट बच्ने प्रयास गरिरहेका छन् भने बाहिर निस्कनै परे मेट्रो रेलको प्रयोग बढी गरिरहेका छन् । रातको समयमा पनि गर्मीबाट राहत नभइरहेको सर्वसाधारणहरुको भनाई छ ।

शनिबार दिल्लीमा अधिकतम तापमान ४० डिग्री सेल्सियल्स रहने अनुमान गरिएको छ ।